images
images
  • अर्को विश्व कीर्तिमान राख्ने तयारीमा हरि बुढामगर

    काठमाडौँ – युद्धमा दुवै खुट्टा गुमाएका हरि बुढामगर अर्को विश्व कीर्तिमान राख्ने तयारीमा छन् । विश्वका सात महादेशका अग्ला शिखर आरोहण गर्ने ‘सेभेन समिट’ अभियान अन्तर्गत उनी अब अन्तिम अन्टार्कटिकाको सबैभन्दा अग्लो शिखर ‘माउन्ट भिन्सन’ (४,८९२ मिटर) आरोहणको तयारीमा जुटिरहेका हुन् ।

    डिसेम्बर अन्त्य वा जनवरी पहिलो सातासम्म शिखर चढ्ने उनको लक्ष्य छ । यो शिखर आरोहण गरेपछि उनी ‘सेभेन समिट’ पूरा गर्ने विश्वकै पहिलो ‘डबल–एबभ–नी एम्प्यूटी’ (घुँडा माथि दुबै खुट्टा नभएका) व्यक्ति बन्नेछन् ।

    अपाङ्गताबारे जागरुकता जगाउन र आफूजस्ता अरुलाई पनि आफ्नै हिमाल चढ्ने सपना पूरा गर्न प्रेरित गर्न सेभेन समिट आरोहणको योजना बनाएको उनले खुलासा गरेका छन् ।

    माउन्ट भिन्सन चढ्न अप्ठेरोमात्र होइन, निकै खर्चिलो पनि हुने भएकाले उनले एक पाउण्ड अभियान सुरु गरेका छन् । यो अभियानमा साथ दिन सबैमा मेरो अपिल समेत गरेका छन् ।

    क्राउड फन्डिङमार्फत एक लाख पाउण्ड उठाउने उनको अभियानमा अहिलेसम्म झण्डै २० हजार पाउण्ड संकलन भएको जानकारी दिएका छन् ।

    उनले यसअघि ६ महादेशका सबै अग्ला शिखर आरोहण गरिसकेका छन् । बुढामगरले १३ अगष्ट २०१९ मा युरोपस्थित मोन्ट ब्ल्यांक ४,८१० मि., ८ जनवरी, २०२० मा किलिमन्जारो ५,८९५ मि. अफ्रिका, १९ मे २०२३ मा माउन्ट एभरेष्ट ८,८४९ मि. एसिया, २८ जुन २०२४ मा उत्तर अमेरिकाको डेनाली ६,१९४ मि., २२ फेब्रुअरी २०२५ मा एकोनकागुवा ६,९६१ मि. दक्षिण अमेरिका र १८ अक्टोबर २०२५ मा ओसिनियास्थित कार्सटेन्ज पिरामिड ४,८८४ मि. को सफल आरोहण गरेका हुन् ।

    उनले डेनाली र कार्सटेन्ज पिरामिडको टुप्पोमा पुग्ने घुँडा माथि दुबै खुट्टा नभएका व्यक्तिमा पहिलो बनेर पर्वतारोहणको अर्को इतिहास पनि रचेका छन् ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images