काठमाडौँ – जेनजी पुस्ताको आन्दोलनमा मृत्यु भएर सहिद भएका इटहरी–१४ का मोहन सरदार घर बनाउने मिस्त्रीको काम गर्थे । गत भदौ २३ गते जेनजी पुस्ताको आन्दोलनबारे उनलाई खासै जानकारी थिएन । उनले गाउँकै श्रवण सरदारसँग बजार जाने निधो गरे । उनी घर बनाउने काम गर्दा खुट्टामा चोट लागेर केही दिनदेखि घरमै आराम गरेर बसेका थिए ।
एकछिन बजार पनि पुगेर आउने अनि खुट्टा पनि सामुदायिक स्वास्थ्य केन्द्रमा देखाएर आउँछु भनेर श्रीमती मञ्जुसँग कुरा गरेर उनी घरबाट निस्किएका थिए तर कहिल्यै नआउने गरी बिदा भएर गए । साँझ अबेरसम्म पनि नफिर्किएपछि श्रीमती मञ्जुले श्रवणलाई सोध्दा दिउँसै छुटिएको र पछि खोज्दा आफूले फेला नपारेको श्रवणले बताएका थिए ।
अनि फोन लगाउन थालिन् । फोन ‘स्वीच अफ’ थियो । आफन्त र गाउँका सबैलाई हारगुहार गरिन् । तर, सबैले आइहाल्नुहुन्छ नी भन्ने जवाफ दिए । नभन्दै उनले बेलुकासम्म त आउनुहुन्छ होला भनेर सोचिन् । तैपनि मन बेचैन भइरह्यो । फेसबुक खोलेर बेलाबेलामा हेर्थिन् । त्यही फेसबुकमा गोली लागेर ढलेको भनेर आफ्नै श्रीमानको भिडियो देखेपछि मञ्जु बेहोस् भइन् । त्यसपछि उनलाई आफन्तले सम्हालेर केही समयपछि होसमा आएको याद छ । अनि, गाउँका सबैजना मोहनको खोजतलासमा लागे । पछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको शव गृहमा राखेको सूचना प्राप्त भयो । आफन्त लिएर भोलिपल्ट मञ्जु हेर्न गइन् ।
उनको आठ वर्षअघि विवाह भएको थियो । उनले सुनसरी रामधुनी–८ कै मञ्जुसँग विवाह गरेका थिए । मञ्जुले यति चाँडै श्रीमान् गुमाउँदाको पीडाबाट सम्हालिन धेरै दिनसम्म कुर्नुपर्यो । अहिले पनि उनी श्रीमानको नाम लिनासाथ आँखाबाट आसु झार्छिन्, अरु केही बोल्न सक्दिनन् । ४० वर्षे पुगेका मोहन र मञ्जुबिच प्रेम विवाह भएको थियो । उनीहरुको एउटी पाँच वर्षकी र अर्की सात वर्षकी छोरी छिन् । घर बनाउने क्रममै उनीहरुबीच चिनजान भयो, अनि मन्दिरमा विवाह भएको थियो ।
छोरीलाई मोहन विदेश गएको भनेर ढाँटिएको छ । मञ्जुको कुबेत गएर कमाएको र मोहनले मिस्त्री गरेर जोहो गरेको पैसाले ऐलानी जग्गामा एउटा सामान्य घर बनाइएको छ । उनीहरुको जसोतसो घर व्यवहार सामान्य ढङ्गले चलेको थियो । अब भने समस्या निम्तिएको छ ।
उनी अहिले प्रधानमन्त्री सुशीला कार्कीले जागिर दिने वचन दिएकाले त्यही आशमा छिन् । तिहारअघि जेनजी पुस्ताको काठमाडौँमा भेला भएको र त्यो भेलामा झापाबाट जेनजी पुस्ताको अगुवा अञ्जु राईले मञ्जुलाई पनि लिएर गएकी थिइन् । त्यो भेलामा सकेर जेनजीकै अगुवाईमा प्रधानमन्त्री सुशीला कार्कीसमक्ष जेनजी आन्दोलनका क्रममा मृत्यु भएका मृतकका परिवारसहित घाइतेका आफन्तलाई भेट गराइएको थियो । त्यहीबेला प्रधानमन्त्री कार्कीले योग्यताअनुसारको जागिर लगाइदिने वचन दिएको मञ्जुले बताइन् ।
उनलाई सरकारले रु १५ लाख उपलब्ध गराइसकेको छ । सरकारले गृह मन्त्रालयमार्फत क्षतिपूर्तिबापत रु १० लाख र काजकिरिया तथा अन्य खर्चका लागि रु पाँच लाख उपलब्ध गराएको हो । जेनजी आन्दोलनका क्रममा मृत्यु भएका परिवारलाई कोशी प्रदेश सरकार र इटहरी उपमहानगरपालिकाले पनि राहत रकम दिने निर्णय गरेको छ । यद्यपि, अहिलेसम्म उपलब्ध भने गराएको छैन । सरकारले दिएको पैसा काजकिरिया खर्च गरेर बचेको सबै पैसा छोरीहरुको भविष्यका लागि वचत गरेर राखेको उनले बताएकी छिन् ।
जेनजीको आन्दोलनको पहिलो भदौ २३ गते नै इटहरीमा दुई जनाको मृत्यु भएको थियो । मोहनसँगै प्रहरीको गोली लागेर इनरुवा–६ घर भई आफन्तको घरमा इटहरी बस्दै आएका १६ वर्षे अभिषेक श्रेष्ठको पनि मृत्यु भएको थियो ।























