images
images
  • ओलीकै कारण सुवेदीको प्रदेश प्रमुख पद चैट

    काठमाडौं– मधेस प्रदेशको मुख्यमन्त्री नियुक्तिलाई लिएर उत्पन्न विवादपछि सरकारले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको छ ।

    सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भण्डारीलाई पदमुक्त गरी उनको सट्टामा सुरेन्द्र लाभलाई प्रदेश प्रमुख सिफारिस गर्ने निर्णय गरेको शिक्षामन्त्री महावीर पुनले बताए ।

    भण्डारीले सोमबार बिहान झिसमिसेमै बर्दिबासस्थित पानस होटलमा एमाले नेता सरोजकुमार यादवलाई मुख्यमन्त्रीको शपथ खुवाएकी थिइन् ।

    यो घटनालाई लिएर राजनीतिक विवाद चुलिएको छ ।

    यादवले एमाले, नेपाल संघीय समाजवादी पार्टी र राप्रपाको समर्थनमा सानो मन्त्रिपरिषद् गठन गरी तीन मन्त्रीको शपथ पनि सोही होटलमा गराएका थिए ।

    तर, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीसँग सल्लाहबिना मन्त्री बनेको भन्दै आफ्ना प्रतिनिधिलाई फिर्ता हुन निर्देशन दिएका छन् ।

    यसअघि लोसपाका जितेन्द्र सोनलले विश्वासको मत नपाएपछि मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए ।

    त्यसपछि सात दलको गठबन्धनले नयाँ सरकार गठनको आह्वान गरेको भए पनि प्रदेश प्रमुखले संसदीय दलका नेता यादवलाई संविधानको धारा १६८ (३) अनुसार मुख्यमन्त्री नियुक्त गरेकी थिइन् ।

    भण्डारी ओलीको सिफारिसमा मधेस प्रदेश प्रमुख बनेकी थिइन् र उनी ओलीकै गृहजिल्ला झापाकी हुन् ।

    होटलमा शपथ गराएको विषयमा एमालेभित्र पनि असन्तुष्टि देखिएको छ ।

    सचेतक हरिनारायण महतोले यस घटनाले पार्टी र दलको उपहास भएको टिप्पणी गरेका छन् ।

    यादवले भने प्रदेश प्रमुखको कार्यालयमा धर्ना भएकाले शपथ होटलमा लिनुपरेको दाबी गरेका छन् ।

    अहिले जनकपुरमा सात दल एकजुट भई मुख्यमन्त्री यादवविरुद्ध विरोध प्रदर्शन गर्दै छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images