मकवानपुर– नेपाल टेलिकमले मकवानपुर जिल्लाको थाहा नगरपालिका–९, चित्लाङमा एनटी फाइबर (FTTH) सेवा विस्तार गरेको छ ।
यससँगै ऐतिहासिक र पर्यटकीय दृष्टिले महत्वपूर्ण मानिएको चित्लाङमा अब आधुनिक इन्टरनेट र टेलिफोन सेवाको सुविधा पुगेको छ ।
उक्त सेवा थाहा नगरपालिका–९ मा रहेको श्री स्वच्छन्द भैरव माध्यमिक विद्यालयमा २०८२ कार्तिक १८ गते औपचारिक रूपमा सञ्चालन गरिएको हो ।
यससँगै चित्लाङ क्षेत्रमा पहिलोपटक टेलिफोन र इन्टरनेट दुवै सेवाको सुरुवात भएको नेपाल टेलिकमले जनाएको छ ।
ग्राहकवर्गको बढ्दो मागलाई ध्यानमा राख्दै टेलिकमले केही विद्यालय र संस्थाहरूसँग एफटीटीएच जडानको प्रक्रिया अघि बढाइसकेको जनाएको छ ।
हाल Radio Backhaul प्रविधिबाट सेवा सञ्चालनमा ल्याइए पनि निकट भविष्यमा Fiber Backhaul प्रविधिबाट सेवा प्रवाह गरी इन्टरनेटसँगै टेलिफोन र टेलिभिजन सेवासमेत विस्तार गर्ने टेलिकमको योजना रहेको छ ।
टेलिकमका प्रवक्ता रबिन्द्र मानन्धरका अनुसार, “ग्रामीण तथा पर्यटकीय क्षेत्रमा आधुनिक दूरसञ्चार सेवा विस्तार गर्नु नेपाल टेलिकमको दीर्घकालीन प्राथमिकता हो । चित्लाङमा एफटीटीएच सेवा सञ्चालनले स्थानीय विद्यालय, व्यवसाय र पर्यटन क्षेत्रलाई प्रत्यक्ष फाइदा पुग्नेछ ।”
चित्लाङमा एफटीटीएच सेवा विस्तारसँगै अब स्थानीय बासिन्दा, विद्यालय र व्यवसायिक संस्थाहरूले उच्च गतिको इन्टरनेट, टेलिफोन र डिजिटल टेलिभिजन सेवा एकैसाथ प्राप्त गर्न सक्ने भएका छन् ।





















