काभ्रेपलाञ्चोक– रोशी-८ चारसयबेशी र रोशी-११ पिप्लेमा डाइभर्सन निर्माण भएपछि बिपी राजमार्ग आजदेखि सञ्चालनमा आएको छ ।
इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख ईश्वर कार्कीका अनुसार, बिहीबारदेखि परेको अविरल वर्षाका कारण तीन दिनदेखि अवरुद्ध राजमार्गमा पहिरो र लेदो पुगेको थियो ।
चारसयबेशीको नाङ्शाल क्रसरनिर सडकमा निरन्तर सुक्खा पहिरो खस्ने भएकाले राजमार्ग बन्द गरिएको थियो ।
डाइभर्सन बनाएपछि रोशीखोला साइडबाट यातायात सञ्चालन गरिएको छ ।
लगातारको वर्षाले चौकीडाँडा, बोक्सीकुना, माम्ती, नार्के, पिन्थलीबेशी, विरुवाडाँडा, डालाबेशीमा पनि पहिरो र लेदोले मार्ग अवरुद्ध भएको थियो ।
प्रशासनले डाइभर्सन भए पनि रोशी खोलाको किनारा र माथिबाट आउने सुक्खा पहिरोको जोखिमका कारण सावधानी अपनाउन अनुरोध गरेको छ ।
गत वर्षको असोजमा बिपी राजमार्गका विभिन्न स्थान बगाएको थियो ।
त्यसपश्चात निर्माण गरिएको डाइभर्सन पनि असोज १८–१९ गतेको वर्षाले प्रभावित भएको थियो ।























