काठमाडौं– अविरल वर्षासँगै आएको बाढी–पहिरोका कारण देशका विभिन्न राजमार्गमा सवारी आवागमन ठप्प भएको छ ।
विशेष गरी कोशी र बागमती प्रदेशका मुख्य सडकहरू बढी प्रभावित भएका छन् ।
गण्डकी र लुम्बिनी प्रदेशमा भने अवस्था क्रमशः सामान्य बन्दै गएको छ ।
कोशी प्रदेशमा चार राजमार्ग पूर्ण रूपमा अवरुद्ध र दुई एकतर्फी सञ्चालनमा छन् ।
सङ्खुवासभाको भोटखोला गाउँपालिका–४ मा कोशी राजमार्ग, पाँचथर र धनकुटाका विभिन्न स्थानमा तमोर करिडोर र भेडेटार सडक अवरुद्ध छन् ।
मध्यपहाडी लोकमार्ग धनकुटा र तेह्रथुम खण्डमा एकतर्फी सञ्चालन भइरहेको छ ।
बागमती प्रदेशमा चार राजमार्ग पूर्ण रूपमा बन्द छन् ।
काभ्रेको बीपी राजमार्ग, रसुवाको पासाङल्हामु सडक र चीन–नेपाल जोड्ने पुल, र मकवानपुरको कुलेखानी–सिस्नेरी सडक अवरुद्ध छन् ।
गण्डकी प्रदेशको जोमसोम–कोरोला सडक कालाभिरमा पहिरोले रोकिएको छ भने पाण्डाखोला खण्ड एकतर्फी सञ्चालनमा छ ।
लुम्बिनी प्रदेशमा अर्घाखाँचीको सन्धिखर्क–गोरुसिङ्गे सडक पनि पहिरोका कारण एकतर्फी चलिरहेको छ ।
























