काठमाडौं– नेपालमा चलिरहेको ‘जेन्जी आन्दोलन’प्रति एकजना अष्ट्रेलियाबासी नेपाली युवाले बनाएको ‘गोफन्डमी’ अभियानमार्फत अष्ट्रेलियामा मात्रै करिब ५ लाख ६७ हजार ७ सय ७७ अमेरिकी डलर (करिब ५ करोड रुपैयाँ) संकलन भएको देखिन्छ ।
तर, सो रकम नेपालमा सम्बन्धित लाभग्राही, सहिद परिवार र घाइतेहरूसम्म पुगेको पुष्टि अहिलेसम्म भएको छैन ।
यही विषयमा अहिले अष्ट्रेलिया र नेपाल दुवै देशका अभियन्ता तथा सहयोगकर्ताबीच प्रश्नहरू उठ्न थालेका छन् ।
१६ जना अभियानकर्ता, ५ करोडभन्दा बढी रकम
गत असोज ४ गते राति ११ः१५ बजेसम्म ‘गोफन्डमी’ प्लेटफर्ममा १६ वटा छुट्टाछुट्टै अभियानहरू Gen–Z Movement Support शीर्षकमा दर्ता भएका थिए ।
ती सबै अभियानहरू अष्ट्रेलियाका विभिन्न शहरहरू सिड्नी, क्यानबेरा, मेलबोर्न, पर्थ, ब्रिस्बेन, तस्मानिया आदिबाट सञ्चालनमा छन् ।
अभियानका आयोजकहरूमा अभियान क्षेत्री, हिरोशी खनाल, आवाश बम्जन, शिरिष काप्री, अंकित फुयाल, श्रे भट्ट, मनीष उपाध्याय, नेपालिज टुनाइट, ललित लम्साल, सुन्दर तिमल्सिना, जबिर हुसैन, ड्रीम हाइट्स, भाबिन खड्का, साम्यग पाठक, अलिश दाहाल, सुनिल गिरी लगायत छन् ।
यी अभियानहरूमा छुट्टाछुट्टै लक्ष्य राखिएका छन् ।
७० हजारदेखि ४ लाख ६० हजार अमेरिकी डलरसम्म सबै अभियानको जम्मा रकम हालसम्म ४५६७,७७७ पुगेको छ ।
तर, रकम संकलनसँगै पारदर्शिताको सवाल पनि उठेको छ ।
डेढ महिनासम्म घाइतेले उपचारको क्रममा पैसा देखेनन्
नेपालमा आन्दोलनका क्रममा ज्यान गुमाएका २२ जना सहिदका परिवार र उपचाररत घाइतेहरूले अहिलेसम्म कुनै सहयोग रकम नपाएको बताइरहेका छन् ।
‘अष्ट्रेलियाबाट ठूलो रकम उठेको हामीले सुनेका छौं, तर यहाँ त हामीलाई अस्पतालको बिल तिर्नै मुस्किल छ,’ भक्तपुरका एक घाइतेका आफन्तले नाम नखुलाउने सर्तमा भने ।
अर्का आन्दोलनकारी विक्रम केसीले भने, ‘गोफन्डबाट उठेको रकम कुन खातामा जम्मा भयो, कसरी नेपाल पठाइनेछ भन्ने विषयमा अहिलेसम्म केही पनि स्पष्ट छैन । सहयोग गर्नेहरूलाई पनि विवरण थाहा छैन ।’
अष्ट्रेलियाको सिड्नीस्थित समाजसेवी सविता श्रेष्ठ भन्छिन्, ‘५ करोडभन्दा बढी रकम संकलन भइसकेको छ । यो रकम वास्तवमै लक्षित समूहसम्म पुग्ने ग्यारेन्टी हुनुपर्छ । होइन भने आन्दोलनप्रतिको जनविश्वास कमजोर हुन्छ ।’
‘नेपालिज कम्युनिटी अफ अस्ट्रेलिया’का अध्यक्ष दीपक बस्नेतले भने, ‘जेन्जी आन्दोलनको नाममा धेरैले मनदेखि सहयोग गरेका छन् । तर, अब आयोजकहरूले रकमको लेखा–जोखा सार्वजनिक गर्नुपर्छ । कति उठ्यो, कहाँ पठाइयो, कसले बुझायो, सबै खुला हुनुपर्छ ।’
नेपालका नागरिक समाज अभियन्ता हरिशरण ढकाल भन्छन्, ‘राहत रकम उठाउने नाममा अनलाइन अभियानहरू चलाउने अभ्यास नयाँ होइन, तर, यसको दुरुपयोग भइरहन्छ । सरकारले यस्ता रकम नेपाल भित्रिँदा नियमन गर्ने संयन्त्र बनाउने बेला आएको छ ।’
गोफन्डमीमा दर्ता गरिएका अभियानकर्तामध्ये केहीले सामाजिक सञ्जालमार्फत रकम पठाउने तयारी भइरहेको बताएका छन् ।
तर, स्पष्ट गन्तव्य, बैंक विवरण वा प्रतिवेदन भने सार्वजनिक गरिएको छैन ।
Australia Maa Meme का तर्फबाट अभियान चलाएका अभियन श्रेत्रीले आफ्नो फेसबुकमा लेखेका छन्, ‘हामी रकम सुरक्षित राखिरहेका छौँ । उचित माध्यमबाट लक्षित समूहसम्म पुर्याइनेछ। कृपया धैर्य गर्नुहोस् ।’
तर, सो अभिव्यक्तिलाई कतिपयले ‘अस्पष्ट र ढिलो प्रतिक्रियास्वरूप’ आलोचना गरेका छन् ।
कानुनविद् अधिवक्ता निरज भण्डारीका अनुसार, विदेशमा उठाइएको राहत रकम नेपालको Foreign Exchange Regulation Act अन्तर्गत ‘अनुमोदित च्यानल’ मार्फत पठाइनु पर्ने कानुनी प्रावधान छ ।
‘यदि रकम व्यक्तिगत खातामा जम्मा गरेर स्वतन्त्र रूपमा पठाइयो भने त्यसले वैधानिक जटिलता निम्त्याउँछ,’ भण्डारी भन्छन् ।
उनका अनुसार, यस्तो रकम नेपालमा पठाउँदा नेपाल राष्ट्र बैंक वा अधिकृत सामाजिक संस्था को माध्यम प्रयोग गर्नुपर्छ ।
जेन्जी आन्दोलनका एक संयोजकले भने, ‘हामी अष्ट्रेलियाका सहयोगकर्ताहरूसँग सम्पर्कमा छौँ ।
उठाइएको रकम वास्तविक पीडितहरूसम्म पुग्ने व्यवस्था मिलाइरहेका छौं । केही असमझदारीका कारण ढिलाइ भएको हो ।’
उनले थपे, ‘हामी सरकारसँग समन्वय गरेर रकम ‘राहत तथा पुननिर्माण कोष’मा जम्मा गर्ने तयारीमा छौं । विदेशमा रहेका नेपालीहरूले हरेक राजनीतिक वा मानवीय संकटमा सहयोग गर्ने परम्परा प्रशंसनीय छ । तर, हरेक पटक उठ्ने प्रश्न एउटै पैसा कहाँ पुग्यो ?’
अष्ट्रेलियामा उठाइएको ५ करोडभन्दा बढी रकम पनि अहिले यही प्रश्नमा अड्किएको छ ।
अब समाज सेवाको नाममा ठगी गर्ने र यो ‘नारा’भन्दा बढी, विश्वासको माथी प्रश्न उठेको छ ।
अष्ट्रेलियाबाट उठाइएको रकम पारदर्शी रूपमा सहिद परिवार र घाइतेसम्म पुगेन भने, ‘जेन्जी आन्दोलन’माथिको जनविश्वासमा गम्भीर क्षति पुग्ने खतरा देखिएको छ ।’
गृहमन्त्री ओमप्रकाश अर्यालले जेन्जी आन्दोलनमा घाइते र सहिद परिवारलाई सहयोग उठाएर अनियमितता गरेको पाइभयो भने कानुनी कारबाही हुने बताए ।


विश्व खबर 


















