images
images
  • माओवादी नेतृत्वमा पुग्ने जनार्दन शर्माको सपना अधुरै !

    काठमाडौं– जेन्जी आन्दोलनपछि नेतृत्व हस्तान्तरण र आन्तरिक विवादले कमजोर बनेका राजनीतिक शक्तिहरूबीच आगामी निर्वाचनलाई केन्द्रमा राखी एकता र ध्रुवीकरणको प्रयास तीव्र बनेको छ ।

    यही सन्दर्भमा माओवादी र एकीकृत समाजवादीलगायत आठ दल–समूहले १८ कात्तिकमा ‘नेकपा समाजवादी’ नामक नयाँ पार्टी घोषणा गर्ने तयारी गरेका छन् ।

    पार्टीको चुनाव चिह्न ‘तारा’ हुनेछ ।

    माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयोजक र एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल सह–संयोजक रहनेछन् ।

    नयाँ पार्टीमा माओवादी, एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी (महिन्द्र राय यादव), नेकपा समाजवादी (प्रेमबहादुर सिंह–राजु कार्की), जनसमाजवादी (सुवास काफ्ले), माओवादी कम्युनिस्ट पार्टी नेपाल (गोपाल किराँती) र विप्लव समूहका चिरण सी सहभागी हुनेछन् ।

    एकताको नीतिगत र सांगठनिक खाका तयार गर्न दुबै पक्षका नेताहरू देव गुरुङ, वर्षमान पुन, रेखा शर्मा, डा.वेदुराम भुसाल, प्रमेश हमाल र प्रकाश ज्वालालाई जिम्मा दिइएको छ ।

    पार्टीको मार्गदर्शक सिद्धान्त मार्क्सवाद–लेनिनवाद, कार्यक्रम नेपाली विशेषताको समाजवाद, दीर्घकालीन लक्ष्य वैज्ञानिक समाजवाद, र संगठनात्मक सिद्धान्त जनवादी केन्द्रीयता रहनेछ ।

    तर, बहुपद व्यवस्था नहुने निर्णय भएको छ ।

    यद्यपि माओवादीका जनार्दन शर्माले गृहकार्य र वैचारिक स्पष्टताविना हुने हतारो एकता दीर्घकालीन रूपमा हानिकारक हुने चेतावनी दिएका छन् ।

    उनले एकता भन्दा पहिला पार्टी पुनर्गठन र समीक्षा आवश्यक रहेको बताउँदै पाँचबुँदे फरक मत पेश गरेका छन् ।

    प्रचण्डले भने शर्माको शैलीलाई ‘अराजक’ भनेका छन् र पार्टी फुट्ने सम्भावना नदेखाएको स्पष्ट पारेका छन् ।

    यसैबीच, एकीकृत समाजवादीभित्र झलनाथ खनाल र घनश्याम भुसाल समूहले एकता प्रक्रियाबाट अलग भएर पार्टी पुनर्गठनको तयारी थालेका छन् ।

    उनीहरूले नयाँ संरचना र घोषणापत्रका लागि राष्ट्रिय भेला बोलाउने निर्णय गरेका छन् ।

    राजनीतिक विश्लेषक श्याम श्रेष्ठका अनुसार प्रचण्ड–माधव एकता आगामी २१ फागुनको निर्वाचन र जेन–जी आन्दोलनको प्रभावसँग प्रत्यक्ष जोडिएको छ ।

    उनका अनुसार पर्याप्त वैचारिक बहस र पुनर्गठनको तयारीबिना गरिएको हतारो एकता टिकाउ नहुने जोखिममा छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images