images
images
  • चालू आर्थिक वर्षको सुरुआति तीन महिनामै ५० अर्ब ६० करोड सार्वजनिक ऋणको बोझ थप

    काठमाडौं– चालू आर्थिक वर्ष २०८२/८३ को सुरुआति तीन महिनामा ५० अर्ब ६० करोड बराबर सरकारी ऋण थपिएको छ ।

    सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार गत असार मसान्तसम्ममा २६ खर्ब ७४ अर्ब चार करोड बराबर रहेको सरकारी ऋण असोज मसान्तसम्म बढेर २७ खर्ब २४ अर्ब ६५ करोड पुगेको छ ।

    हाल तिर्न बाँकी सरकारी ऋण कुल गार्हस्थ्य उत्पादनको ४४ दशमलव ६१ प्रतिशत बराबर हुन आउँछ ।

    कूल सार्वजनिक ऋणमा असोज मसान्तसम्ममा वैदेशिक ऋणको हिस्सा ५३ दशमलव ०९ प्रतिशत अर्थात् १४ खर्ब ४६ अर्ब ५८ करोड र आन्तरिक ऋणको हिस्सा ४६ दशमलव ९१ प्रतिशत अर्थात् १२ खर्ब ७८ अर्ब सात करोड छ ।

    सरकारले चालू आर्थिक वर्षका लागि पाँच खर्ब ९५ अर्ब बराबर सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखेकामा पहिलो त्रैमासमा एक खर्ब ८४ करोड ऋण प्राप्ति भइसकेको कार्यालयले जनाएको छ । जुन वार्षिक लक्ष्यको तुलनामा १६ दशमलव ९३ प्रतिशत बराबर हो ।

    आन्तरिकतर्फ तीन खर्ब ६२ अर्ब ऋण उठाउने सरकारी लक्ष्य रहेकोमा असोज मसान्तसम्ममा ९० अर्ब अर्थात् वार्षिक लक्ष्यको २४ दशमलव ८६ प्रतिशत ऋण उठिसकेको छ ।

    त्यस्तै, बाह्यतर्फ दुई खर्ब ३३ अर्ब ६६ करोड बराबर उठाउने लक्ष्य रहेकामा हालसम्म वार्षिक लक्ष्यको चार दशमलब ६५ प्रतिशत अर्थात् एक अर्ब ८४ करोड बराबर मात्रै उठ्न सकेको छ ।

    सरकारी ऋणको साँवा ब्याज तिर्न सरकारले यस वर्ष चार खर्ब ११ अर्ब एक करोड बराबर बजेट छुट्याएको छ ।

    जसमध्ये असोज मसान्तसम्म एक खर्ब नौ अर्ब ८९ करोड बराबर भुक्तानी भइसकेको छ ।

    यो वार्षिक बजेट विनियोजनको आधारमा २६ दशमलव ७४ प्रतिशतको हो ।

    कूल गार्हस्थ्य उत्पादनका आधारमा असोज मसान्तसम्ममा कूल ऋण सेवा खर्च एक दशमलव ८० प्रतिशत रहेको छ । -रासस

    प्रतिक्रिया दिनुहोस्

    images