images
images
  • ०८२ मा कांग्रेस महाधिवेशन हुने सम्भावना न्यून, थापा–शर्माको विशेष महाधिवेशन गर्नुपर्ने अडान कायमै

    काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा पार्टी महाधिवेशन प्रतिनिधिसभा चुनावपछि मात्रै गर्नुपर्ने धारणा हावी भएको छ ।

    बिहीबारको बैठकमा बोल्ने अधिकांश नेताले २१ फागुनको चुनावअघि महाधिवेशन सम्भव नभएको बताएका हुन् ।

    बैठक सुरु हुनुअघि कार्यवाहक सभापति पूर्णबहादुर खड्काले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग छलफल गरी बैठक सञ्चालनमा सहमति जुटाएका थिए ।

    तर, खड्काले महाधिवेशन कार्यतालिका प्रस्ताव गर्न अनुमति नदिएपछि थापा बैठकमा सहभागी भएनन् ।

    यसअघि पनि सभापति शेरबहादुर देउवाले थापाको प्रस्ताव रोकेका थिए ।

    बिहीबार १५ जना केन्द्रीय सदस्यले धारणा राख्दा अधिकांशले चुनावअगाडि महाधिवेशन गर्न असम्भव रहेको तर्क गरेका थिए ।

    प्रवक्ता प्रकाशशरण महतका अनुसार सदस्यहरूले निर्वाचनलाई प्राथमिकता दिँदै महाधिवेशन चुनावपछि गर्ने पक्षमा सुझाव दिएका छन् ।

    संस्थापन पक्ष पार्टी विधानअनुसार कार्यसमितिको म्याद थप्ने तयारीमा छ ।

    तर, महामन्त्रीद्वयले मंसिरमै नियमित वा विशेष महाधिवेशन गर्नुपर्ने अडान लिएका छन् ।

    शेखर कोइराला समूह भने नियमित महाधिवेशनका लागि कार्यतालिका बनाउनुपर्ने पक्षमा छ ।

    १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिको चार वर्षे म्याद मंसिरमा सकिँदै छ ।

    विधानले एक वर्ष म्याद थप्न दिने व्यवस्था गरेको छ ।

    यता, आधाभन्दा बढी महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको माग गर्दै निवेदन दर्ता गराएका छन् ।

    केन्द्रीय सदस्य प्रदीप पौडेलले नियमित महाधिवेशनबाट नयाँ नेतृत्व चयन गरेर २१ फागुनको चुनावमा जानु उपयुक्त हुने बताएका छन् ।

    उनका अनुसार २४ मंसिरभित्र वडा अधिवेशन र पुस मसान्तभित्र राष्ट्रिय महाधिवेशन सम्पन्न गर्न सकिन्छ ।

    महाधिवेशनबाट मात्र कांग्रेसले संरचनागत उत्साह र नीतिगत स्पष्टता पुनः प्राप्त गर्न सक्ने उनको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images