काठमाडौं– नेकपा (एकीकृत समाजवादी)भित्र आन्तरिक किचलो तीव्र बन्दै गएको छ ।
जारी केन्द्रीय कमिटी बैठकले पार्टी दुई भागमा विभाजित हुने संकेत दिएको छ ।
मुख्य विवाद अध्यक्ष माधवकुमार नेपाल र इतर समूहबीच माओवादी केन्द्रसँग एकता गर्ने–नगर्ने विषयमा देखिएको हो ।
अध्यक्ष नेपाल माओवादीसँग एकता गर्न तयार छन् भने महासचिव घनश्याम भुसाल, नेता झलनाथ खनाल र रामकुमारी झाँक्रीलगायतको समूह त्यसको विपक्षमा उभिएको छ ।
भुसालले बैठकमा खुलेर एकताको विरोध गर्दै नेपाल र प्रचण्ड दुवैलाई ‘अब विश्राम लिनुपर्ने’ सुझाव दिएका छन् ।
उनले नाम, झण्डा र चिन्ह मिलाएर मात्र प्राविधिक एकता गर्नु अपमानजनक हुने तर्क गरेका छन् ।
खनाल र झाँक्री पनि यही धारणा साझा गर्छन् ।
झाँक्रीले त अध्यक्ष नेपालले पतञ्जलि जग्गा प्रकरणपछि राजीनामा दिनुपर्ने माग गर्दै आएकी छन् ।
उनका अनुसार, पार्टीभित्रै कार्यकर्ताको चाहना पनि नेपालको विश्रामतर्फ केन्द्रित छ ।
स्रोतका अनुसार, अन्ततः एस दुई धारमा विभाजित हुनसक्छ, नेपाल पक्ष माओवादीसँग एकता गर्ने र भुसाल–खनाल–झाँक्री समूहले पार्टीलाई निरन्तरता दिने ।
यस्तो अवस्थामा भुसाल नयाँ अध्यक्ष बन्ने सम्भावना देखिएको छ ।
झाँक्री तत्काल माओवादी वा एमाले दुबैमा जाने सम्भावनाबाट टाढा छिन् ।
उनी ओलीको विकल्पको रूपमा आफ्नो अलग राजनीतिक लाइन अघि बढाउने तयारीमा रहेको बुझिएको छ।
यसरी हेर्दा एसका युवा पुस्ता माओवादीमा जानेभन्दा आफ्नै पार्टीलाई निरन्तरता दिने पक्षमा खुल्दै गएका छन्।























