काठमाडौं– ११औं महाधिवेशन नजिकिँदै गर्दा नेकपा (एमाले) भित्र पुनः नयाँ ध्रुवीकरण देखिन थालेको छ ।
जेन–जी विद्रोहपछि सत्ता र नेतृत्व दुवै गुमाएका अध्यक्ष केपी शर्मा ओलीमाथि अब नेतृत्व हस्तान्तरणको दबाब बढेको छ ।
तर, उनी पुनः अध्यक्षमा दोहोरिन तयारीमा छन् ।
संस्थापनइतर समूहले ओलीलाई महाधिवेशनअघि हटाउने प्रयास गरे पनि ‘अर्ली महाधिवेशन’को प्रस्तावले त्यो योजना विफल बनायो ।
सो समूहले ओलीको विकल्पका रूपमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई अघि सारे पनि साउन ५–६ गतेको केन्द्रीय कमिटी बैठकले पूर्वराष्ट्रपतिलाई सदस्यता नवीकरण नदिने निर्णय गरेको थियो ।
उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले ‘विद्याजीको च्याप्टर क्लोज भइसकेको’ बताउँदै अब नयाँ नेतृत्व खोज्नुपर्ने बताएकी छन् ।
तर, पछिल्ला बैठकमा उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र विष्णु पौडेलसहितका नेताहरू भण्डारीको सदस्यता पुनः बहाल गर्नुपर्ने पक्षमा उभिँदा एमालेभित्र नयाँ ध्रुवीकरण झल्किएको छ ।
संस्थापनइतर समूहले महाधिवेशन तयारीका लागि कात्तिक १५ गते बस्ने सचिवालय बैठकमा यही विषय उठाउने तयारी गरेको छ ।
ओली तयार भए भण्डारीलाई अध्यक्षको उम्मेदवार बनाउने योजनासमेत सो समूहको छ, यद्यपि उनले चुनाव नलड्ने जनाइएको छ ।
यदि सदस्यता नदिइएमा संस्थापनइतर पक्षले पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई अघि सार्ने तयारी गरेको छ ।
शाक्यले ओलीलाई ‘ससम्मान बिदा’ गरेर पार्टी पुनर्गठन गर्नुपर्ने बताउँछिन् भने संस्थापन पक्ष भने ओलीकै नेतृत्वमा महाधिवेशनमा जाने अडानमा छ ।
स्थायी कमिटी सदस्य राजन भट्टराईका अनुसार केन्द्रीय कमिटीका अधिकांश सदस्य ओलीको पक्षमा छन् र अब ध्यान महाधिवेशन तयारीमै केन्द्रित हुनेछ ।
ओलीले जेन–जी विद्रोहलाई ‘विदेशी षड्यन्त्र’ भन्दै कार्यकर्तासँग भेटघाट र संगठन सुदृढीकरण तीव्र पारेका छन् ।
पार्टीभित्र ‘संकटको बेला नेतृत्व परिवर्तन घातक’ भन्ने धारणा बलियो बन्दै गएपछि उनी महाधिवेशनमा पुनः जित्नेमा ढुक्क देखिन्छन् ।
तर, नेतृत्व हस्तान्तरणको बहसले पार्टीभित्र शक्ति सन्तुलनलाई झन् जटिल बनाएको छ ।























