images
images
  • ३३औं प्रहरी प्रमुखका लागि रस्साकस्सी, को–को छन् दाबेदार ?

    काठमाडौं– प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङ दुई महिनामात्र संगठनको नेतृत्व गरेपछि २६ कात्तिकको मध्यरातबाट अवकाश हुँदैछन् ।

    खापुङको छोटो कार्यकाल जेन–जी आन्दोलनका कारण विवादास्पद बनेको अवस्थामा अब नयाँ प्रहरी प्रमुख (३३औं) चयनको दौड सुरु भएको छ ।

    आईजीपीको प्रतिस्पर्धा दुई ब्याचबीच हुने देखिन्छ– २०५४ चैत १८ मा प्रहरीमा प्रवेश गरेका १११औं टोली र २०५८ पुसमा राष्ट्रिय अनुसन्धान विभाग (राअवि)बाट प्रहरीमा स्थानान्तरण भएका टोलीबीच ।

    हाल एआईजीका रूपमा दाबेदार चार जना छन्– दानबहादुर कार्की, राजन अधिकारी, डा. मनोजकुमार केसी र सिद्धीविक्रम शाह ।

    कार्की, अधिकारी र केसी १११औं ब्याचका हुन् भने शाह राअविबाट आएका हुन् ।

    सेवा वरीयताका हिसाबले शाह पछिल्ला भए पनि उनी आईजीपी बनेमा अन्य तीन जनामध्ये एक जनाको भविष्य अझै खुला रहने देखिन्छ ।

    खापुङको कार्यकाल जेन–जी आन्दोलनका कारण कठिन रह्यो ।

    आन्दोलनका क्रममा ७५ जनासहित तीन प्रहरीको मृत्यु र ठूलो मात्रामा सम्पत्ति नोक्सानी भएपछि वर्तमान नेतृत्वमाथि ‘असफल’ आईजीपीको छवि बनेको छ ।

    यही कारण नयाँ आईजीपी चयनलाई राजनीतिक रूपमा पनि विशेष चासोका साथ हेरिएको छ ।

    वरीयतामा पहिलो रहेका एआईजी कार्की २४ भदौको हिंसात्मक दिन काठमाडौं प्रहरी प्रमुखका रूपमा थिए ।

    प्रहरीले जिम्मेवारी छाड्दा उपत्यका धुवाँमय बनेको आरोप उनीमाथि छ ।

    पूर्वएआईजी विज्ञानराज शर्माले पनि ‘कार्कीको निर्देशनले प्रहरी कमजोर बनेको’ भन्दै छानबिन आवश्यक रहेको टिप्पणी दिएका छन् ।

    यस कारण कार्कीको सम्भावना कमजोर देखिन्छ ।

    अर्का दाबेदार राजन अधिकारी लो–प्रोफाइल र विवादरहित अधिकृतका रूपमा चिनिन्छन् ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत काम गरेका उनी ओलीनिकट भए पनि आईजीपी बन्ने सम्भावना न्यून मानिन्छ ।

    डा. मनोजकुमार केसी हाल सीआईबी प्रमुख छन् ।

    भुटानी शरणार्थी प्रकरण सार्वजनिक गर्ने र ठूला राजनीतिक व्यक्तिहरूलाई पक्राउ गराउने क्रममा उनको भूमिका निर्णायक थियो ।

    बदलिँदो राजनीतिक समीकरणमा केसी बलियो उम्मेदवार मानिन्छ ।

    उता सिद्धीविक्रम शाह राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका प्रमुख हुन् ।

    जेन–जी आन्दोलनका बेला प्रधान कार्यालय जोगाउन र दुर्गा प्रसाईं पक्राउमा सक्रिय भूमिका खेलेका शाहलाई समन्वयकारी र व्यावहारिक अधिकृतका रूपमा चिनिन्छ ।

    यसरी चार दाबेदारमध्ये कसले बाजी मार्ला भन्ने स्पष्ट छैन ।

    तर राजनीतिक परिस्थिति र जेन–जी आन्दोलनको प्रभावले यसपटकको आईजीपी चयन निकै संवेदनशील बनेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images