images
images
  • ११ देशमा कांग्रेस–एमालेका राजदूतको राइँदाइँ, फिर्ता बोलाइएकाहरू कात्तिक २० मा फर्किँदै स्वदेश

    काठमाडौं– सरकारले तत्काल ११ देशमा नयाँ राजदूत नियुक्त नगर्ने निर्णय गरेको छ ।

    गत ३० असोजमा मन्त्रिपरिषद्ले चीन, बेलायत, अमेरिका लगायतका ११ देशका राजदूत फिर्ता बोलाएको थियो ।

    उनीहरूलाई २० कात्तिकसम्म स्वदेश फर्कन निर्देशन दिइएको छ ।

    परराष्ट्र मन्त्रालयका अनुसार अहिले ती नियोगहरूमा कार्यरत उपनियोग प्रमुखहरूले कार्यवाहक राजदूतका रूपमा जिम्मेवारी सम्हाल्नेछन् ।

    चीनमा सहसचिव रोशन खनाल र अमेरिकामा सहसचिव शरदराज आरणले कार्यवाहकका रूपमा काम गर्नेछन्, अन्य देशहरूमा उपसचिव तहका अधिकारीले नेतृत्व लिनेछन् ।

    परराष्ट्र प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले मन्त्रालयका सम्बन्धित महाशाखाबाट ती नियोगहरूसँग सघन समन्वय हुने बताए ।

    उनका अनुसार नियोगहरूको प्रतिनिधित्व, राष्ट्रहित प्रवद्र्धन र सेवा प्रवाहमा कुनै बाधा नआओस् भन्ने उद्देश्यले आवश्यक व्यवस्था मिलाइएको छ ।

    फिर्ता बोलाइएका राजदूतहरूमा नरेशविक्रम ढकाल (साउदी अरब), धनप्रसाद पण्डित (इजरायल), सनिल नेपाल (स्पेन), डा. शैल रूपाखेती (जर्मनी), लोकदर्शन रेग्मी (अमेरिका), चन्द्रकुमार घिमिरे (बेलायत), जंगबहादुर चौहान (रुस), रमेशचन्द्र पौडेल (कतार), डा. कृष्णप्रसाद ओली (चीन), डा. नेत्रप्रसाद तिमल्सिना (मलेसिया) र डा. दुर्गाबहादुर सुवेदी (जापान) छन् ।
    भारत, अस्ट्रेलिया, श्रीलंका, दक्षिण कोरिया, डेनमार्क र दक्षिण अफ्रिकाका राजदूतहरू भने यथावत् रहनेछन् ।

    यी देशमा कांग्रेस र एमालेले नियुक्त गरेका राजदूत छन् ।

    फिर्ता बोलाइएका राजदूतहरूलाई २० कात्तिकभित्र नेपाल फर्कने गरी टिकट व्यवस्था भइसकेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images