काठमाडौं– पार्टी दर्ताको अन्तिम तयारीसँगै ऊर्जा, भौतिक पूर्वाधार र शहरी विकासजस्ता महत्त्वपूर्ण मन्त्रालय सम्हालिरहेका मन्त्री कुलमान घिसिङ सरकारबाट बाहिरिने सम्भावना बढेको छ ।
घिसिङले भने अझै पार्टी गठन छलफलमै रहेको बताएका छन् ।
तर, घिसिङको टोलीका एक सदस्यका अनुसार सबै प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।
‘उज्यालो नेपाल’ नाममा दर्ता प्रयास भइरहेको भए पनि उक्त नाम अरूले लिएपछि नयाँ नाम तय गर्ने काम भइरहेको छ ।
केपी शर्मा ओलीको सरकारले उनलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएपछि घिसिङ सक्रिय रूपमा राजनीतिमा लागेका हुन् ।
विदेश भ्रमण र देश दौडाहापछि २०८४ को चुनावमा सहभागिता जनाउने तयारीमा रहेका उनले भदौ २४ को आन्दोलनपछि आफ्नै पार्टी बनाउने निर्णय पक्का गरेका हुन् ।
‘उज्यालो नेपाल’ नामकै पार्टी पहिले नै ज्ञानेन्द्रकुमार तामाङले दर्ता गरेपछि कुलमानले त्यस पार्टीसँग कुनै सम्बन्ध नरहेको स्पष्ट पारेका छन् ।
यसअघि रुपन्देही–३ को उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीको टिकट प्रस्ताव अस्वीकार गरेका घिसिङ अन्तरिम सरकार गठनका बेला ‘जेनजी’को प्रधानमन्त्री सूचीमा समेत छलफलमा आएका थिए ।
मन्त्री अफर हुँदा उनले उपप्रधानमन्त्रीको शर्त राखे पनि पछि एक महिनापछि राजीनामा दिने सहमतिमा शपथग्रहण गरेका थिए ।























