images
images
  • राष्ट्रिय सभाका एक तिहाइ सदस्यहरूको कार्यकाल सकिँदै, कहिले हुन्छ निर्वाचन ?

    काठमाडौं– मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले राष्ट्रिय सभाका एक तिहाइ सदस्यको कार्यकाल समाप्त हुने भएकाले आगामी माघ ११ गते निर्वाचन गर्ने निर्णय गरेको छ ।

    फागुन २० गते कार्यकाल सकिने सदस्यहरूको सट्टामा निर्वाचन गर्न सुशीला कार्की नेतृत्वको सरकारले मिति तय गरेको हो ।

    समाप्त हुने कार्यकालमध्ये नेकपा (एमाले) का ८, माओवादी केन्द्रका ७, एकीकृत समाजवादीका १, लोकतान्त्रिक समाजवादीका १, जनता समाजवादी पार्टीका १ र एक जना मनोनीत सदस्य रहेका छन् ।

    सङ्घीय संसद् सचिवालयका अनुसार एमालेका इन्दिरा गौतम, गोपाल भट्टराई, तुलसा दाहाल, देवेन्द्र दाहाल, भागवती न्यौपाने, विमला घिमिरे, शारदा भट्ट र सुमित्रा बिसीको कार्यकाल सकिँदैछ ।

    घिमिरे अहिले राष्ट्रिय सभाकी उपाध्यक्ष हुन् ।

    माओवादी केन्द्रबाट गोपीबहादुर सार्की, गंगाकुमारी बेलबासे, जगप्रसाद शर्मा, तारामान स्वार, नारायणकाजी श्रेष्ठ, मायाप्रसाद शर्मा र राधेश्याम पासवानको कार्यकाल समाप्त हुँदैछ ।

    त्यस्तै, एकीकृत समाजवादीका डा.वेदुराम भुसाल, लोकतान्त्रिक समाजवादीका शेखरकुमार सिंह, जनता समाजवादीका मृगेन्द्रसिंह यादव र राष्ट्रपतिद्वारा मनोनीत वामदेव गौतमको कार्यकाल पनि यही फागुनमा सकिनेछ ।

    निर्वाचन मण्डलमा प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख–उपप्रमुख तथा अध्यक्ष–उपाध्यक्ष सहभागी हुनेछन् ।

    निर्वाचन आयोगका अनुसार प्रदेश सभा सदस्यको मतभार ५३ र स्थानीय तहका प्रमुख/उपप्रमुखको मतभार १९ रहनेछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images