काठमाडौं– रूस–युक्रेन युद्धमा रुसी सेनामा भर्ती भएका १०१ नेपालीको मृत्यु पुष्टि भएको छ भने १२५ अझै बेपत्ता छन् ।
परराष्ट्र मन्त्रालयले कन्सुलर विभागमार्फत ४१ जनाका परिवारको डिएनए परीक्षण गरी रूस पठाएको विवरणमा अधिकांशको मृत्यु पुष्टि भएको हो ।
हालसम्म ३५० भन्दा बढी निवेदन परेका छन् ।
परराष्ट्र प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार मृतकका परिवारलाई क्षतिपूर्ति दिन र शव पठाउन नेपालले रूस सरकारसँग कूटनीतिक आग्रह गरिसकेको छ ।
पाँच नेपालीको अस्तु मात्रै परिवारले नेपालमा पाएको छ भने तीनजनाको दाहसंस्कार रुसमै गरिएको थियो ।
सरकारले बेलायती र भारतीय सेनाबाहेक अन्य देशका सेनामा नेपाली नागरिकको भर्ती रोकिएको बताउँदै आएको छ ।
रूसी सेनामा नयाँ भर्ती रोकिएको र पूर्वनेपाली नागरिकमध्ये केवल रुसी नागरिकता लिएका व्यक्तिहरूको सेवा नवीकरण भएको जानकारी परराष्ट्र मन्त्रालयले पाएको छ ।























