काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आज सम्पन्न सचिवालय बैठकले आगामी कात्तिक १४ गते बृहत् राजनीतिक संवाद आयोजना गर्ने निर्णय गरेको छ ।
जेन्जी पुस्ताले सुशासनका पक्षमा गरेको हस्तक्षेपपछि बनेको नयाँ राजनीतिक परिस्थितिमा समान सोच भएका समूहबीच दीर्घकालीन रूपान्तरणका लागि सहकार्यका उद्देश्यसहित संवाद आयोजना गर्न लागिएको पार्टीले जनाएको छ ।
संवादको उद्देश्य आन्दोलनका सन्देशबारे साझा बुझाइ बनाउने, लोकतान्त्रिक मान्यता र राष्ट्रियताको प्रवद्र्धन गर्ने तथा आगामी प्रतिनिधिसभा निर्वाचनमा रणनीतिक साझेदारीको सम्भाव्यता खोज्ने रहेको छ ।
बैठकले कार्तिक ११ देखि २५ गतेसम्म देशभर मतदाता नामावली दर्ता सहजीकरण अभियान संचालन गर्ने निर्णय पनि गरेको छ ।
उक्त अभियानको संयोजन सचिवालय सदस्य गणेश पराजुलीले गर्नेछन् ।
त्यस्तै, बैठकले पार्टीका वडा र पालिका अधिवेशन सुचारु गर्ने, विभिन्न तहमा प्रशिक्षण सञ्चालन गर्ने र कार्तिक २२ भित्र समानुपातिक तर्फ उम्मेदवारी आव्हान गर्ने तयारी अघि बढाउने निर्णय गरेको छ ।























