काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी शुक्रबार विभिन्न दल, व्यक्ति र समूहसँग सामूहिक राजनीतिक छलफल गर्ने तयारी गरेको छ ।
महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार यो भेला जेनजी आन्दोलनपश्चात् प्राप्त उपलब्धिलाई संस्थागत गर्ने उद्देश्यले आयोजना हुँदैछ ।
यसअघि रास्वपाले नागरिक उन्मुक्ति, विवेकशील साझा र जनमत पार्टीसँग छुट्टाछुट्टै छलफल गरिसकेको थियो ।
अबको भेलामा बालेन शाह र ऊर्जामन्त्री कुलमान घिसिङका तर्फबाट पनि प्रतिनिधि सहभागी हुने बुर्लाकोटीले बताए ।
उनका अनुसार यो छलफल परिवर्तनको पक्षधर शक्तिहरूलाई एकजुट गराउने र सहकार्यको रेखाङ्कन गर्ने प्रयास हो ।
नेपाली कांग्रेस, एमाले र माओवादीबाहेकका दल र समूह सहभागी हुने यस भेलामा एउटै राजनीतिक शक्ति वा अलाइन्स निर्माण गर्ने सम्भावनाबारे पनि छलफल हुने उनले जानकारी दिए ।
‘यो बृहत् राजनीतिक संवाद हो,’ बुर्लाकोटीले भने, ‘हामी आन्दोलनको उपलब्धिलाई संस्थागत गर्दै क्षयीकरण हुन नदिन केन्द्रित हुनेछौं ।’
भेला कुनै होटल वा पार्टी प्यालेसमा नभई सार्वजनिक संस्थाको कार्यालयमा हुने र समय तथा स्थान आज दिउँसोसम्म टुंगो लाग्ने उनले बताए ।























