काठमाडौं– सरकारले प्रवासी नेपालीलाई मतदानको अधिकार दिने तयारी गरेको छ ।
गृह मन्त्रालयले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, निर्वाचन आयोग ऐन, मतदाता नामावली ऐन र निर्वाचन कसुर तथा सजाय ऐनमा संशोधन गर्दै मस्यौदा तयार पारी सुझावका लागि निर्वाचन आयोगमा पठाएको छ ।
सहसचिव भरतमणि रिजालका अनुसार विदेशमा बस्ने नेपालीले समानुपातिकतर्फ मतदान गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ ।
मतदाता नामावली संकलनदेखि मतदान केन्द्र व्यवस्थापनसम्म आयोगको कार्यविधि अनुसार हुनेछ ।
निर्वाचन आयोगले प्रवासी नेपालीको मतदानका लागि तीन विकल्प सुझाएको छ ।
जसअन्तर्गत अग्रिम मतदान, कूटनीतिक नियोगमा मतदान वा अनलाइन मतदान छन् ।
हाल सरकार अग्रिम मतदान र कूटनीतिक नियोग मार्फत मतदान गर्ने विकल्पमा केन्द्रित छ ।
यो कदम सर्वोच्च अदालतको आदेश पालनासँग सम्बन्धित छ ।
२०७४ चैत ७ मा अदालतले विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार सुनिश्चित गर्न सरकारलाई निर्देशन दिएको थियो, तर कानुन निर्माण नभएकाले कार्यान्वयन हुन सकेको छैन ।
निर्वाचन आयोग विदेशी मतदाताको व्यवस्थापनमा तयार रहेको बताउँदै गृह मन्त्रालयको मस्यौदा आएपछि प्रक्रिया अघि बढ्नेछ ।
नीति अध्ययन प्रतिष्ठानले आवश्यक अध्ययन गरेर सरकारलाई प्रतिवेदन दिने काम गरिरहेको छ ।
२०७८ को जनगणनाअनुसार विदेशमा करिब २२ लाख नेपाली बस्छन् ।
हाल ४३ देशमा नेपालको कूटनीतिक नियोग छ, जहाँ प्रवासी नेपालीको मताधिकार सुनिश्चित गर्ने छलफल जारी छ ।


विश्व खबर 



















प्रतिक्रिया दिनुहोस्