images
images
  • पार्टी फुटाउन कांग्रेस संस्थापनका शीर्ष नेताहरूको गुपचुप भेला

    काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक स्थगित भइरहेका बेला संस्थापन पक्षले शनिबार ललितपुरको सिद्धार्थ होटलमा गोप्य भेला गरेको छ ।

    कार्यवाहक सभापति पूर्णबहादुर खड्काको संयोजनमा भएको भेलामा शेरबहादुर देउवा समर्थक नेताहरूले आगामी रणनीति र महाधिवेशनको समयबारे छलफल गरेका थिए ।

    बैठकमा विशेष महाधिवेशनको मागसहित सुरु भएको हस्ताक्षर अभियानबारे गहिरो विमर्श गरिएको स्रोतले बताएको छ ।

    सहभागीहरूका अनुसार संस्थापन पक्षले मंसिरभित्र महाधिवेशन गर्न नसकिने निष्कर्ष निकालेको छ ।

    छलफलमा कृष्ण सिटौला, विमलेन्द्र निधि, बालकृष्ण खाँण, रमेश लेखक, एनपी साउदलगायत नेताहरू सहभागी थिए ।

    शंशाक कोइरालासमेत उपस्थित रहेको भेलामा हस्ताक्षर अभियान फिर्ता गराउने र महाधिवेशनको म्याद लम्ब्याउने विषयमा पनि कुरा भएको बताइन्छ ।

    यद्यपि दलीय विभाजनबारे पनि सामान्य छलफल भएको थियो ।

    तर, खड्काले विभाजन खतरा हुने भन्दै यसबारे छलफल गर्न चाहेनन् ।

    महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले मंसिरभित्रै १५औं महाधिवेशन गर्नुपर्ने मागसहित हस्ताक्षर सङ्कलन गरेका छन् ।

    असोज २९ गते २,४८८ प्रतिनिधिको हस्ताक्षर कार्यवाहक सभापति खड्कालाई बुझाइएको थियो, जसले कांग्रेस विधानअनुसार विशेष महाधिवेशन बोलाउन दबाब सिर्जना गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्

    images