काठमाडौं– नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेकपाबीच एकता प्रयासमा प्रचण्ड सक्रिय भएका छन् ।
तर, आफ्नै पार्टीभित्र असन्तुष्टि समाधान नभइसकेको र अन्य दलका नेताहरू सहमत नभएकाले एकता पहल ठप्प छ ।
प्रचण्डले एकीकृत समाजवादीका महासचिव घनश्याम भुसाललाई भेटेर वृहत् वामशक्ति निर्माणमा साथ दिन आग्रह गरेका थिए ।
भुसालले केही सर्तहरू राख्दै प्रस्ताव अस्वीकार गरेका छन् ।
भुसालका अनुसार, प्रचण्डले आफू, माधवकुमार नेपाल र विप्लवको नेतृत्वमा एकता गर्ने र त्यसपछि भुसाललगायत नयाँ पुस्तालाई जिम्मेवारी दिने प्रस्ताव गरेका थिए ।
भुसालले पदीय समायोजनले होइन, नयाँ कार्यदिशा र संरचना परिवर्तनले मात्रै कम्युनिस्ट आन्दोलन अगाडि बढ्न सक्छ भन्दै असहमति जनाए ।
उनका शब्दमा भएकै नेतृत्वले समस्या समाधान गर्न सक्दैन, नयाँ सोच र स्वीकार्य नेतृत्व आवश्यक छ । भुसालको तर्क सुनेपछि प्रचण्डले हामी कहाँ जाने त ? भनेका थिए । जवाफमा
भुसालले सुझाव दिएका थिए, ‘अब सल्लाहकार वा अभिभावकको भूमिकामा रहनुस् ।’
२०७५ सालमा भएको असफल वामएकताको उदाहरण दिँदै भुसालले वर्तमान प्रयास पनि औचित्यहीन हुने बताए ।
अन्ततः प्रचण्डले छलफल जारी राखौँ भन्दै भेट टुंग्याएका थिए ।
यसैबीच, प्रचण्डले दिल्लीमा रहँदा एकीकृत समाजवादीका नेता झलनाथ खनाललाई पटक–पटक फोन गरे पनि उनले भेट्न अस्वीकार गरेको स्रोतले जनाएको छ ।
काठमाडौं फर्किएपछि पनि प्रचण्डको ताकेतापछि खनालले पार्टी बैठकबाहेक व्यक्तिगत भेटघाटको आवश्यकता छैन भन्दै इन्कार गरेका हुन् ।
खनाल निकट स्रोतका अनुसार नभेट्दा मिल्यो भन्ने हल्ला चलिसकेको अवस्थामा भेटेपछि झन् अफवाह बढ्ने भएकाले उनले दूरी कायम राखेका छन् ।


विश्व खबर 



















प्रतिक्रिया दिनुहोस्