काठमाडौं– सरकार गठनमा निर्णायक भूमिका खेलेका काठमाडौंका मेयर बालेन शाहले पछिल्लो दुई सातामा प्रधानमन्त्री सुशीला कार्कीलाई दुईपटक भेटेका छन् ।
संघीय सरकारका प्रमुखसँग भेट्न अहिलेसम्म हिचकिचाउँदै आएका बालेनले यसपटक बालुवाटार पुगेर चार विषयमा आफ्ना माग राखेका थिए ।
उनका अनुसार तत्कालीन प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रमेश लेखकलाई जेनजी आन्दोलनमा भएको दमनका लागि पक्राउ गर्न, दुर्गा प्रसार्इंलाई नियन्त्रणमा लिन, मन्त्रीहरूको कार्यगत ढिलाइ सुधार गर्न र गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउनुपर्ने माग उनले राखे ।
कार्कीले भने कानुनी प्रक्रिया र आन्दोलनको भावना दुवै सन्तुलनमा राख्ने बताउँदै कारबाहीका लागि गठन भएको गौरीबहादुर कार्की आयोगलाई काम गर्न समय दिन आग्रह गरिन् ।
बालेनले सरकारको तयारी फितलो रहेको र दुर्गा प्रसाईंले भड्काउने गतिविधि गरिरहेको भन्दै तुरुन्त निगरानी गर्न आग्रह गरेका थिए ।
कार्कीले भने बोलेका आधारमा पक्राउ गर्न कठिन हुने तर आपत्तिजनक गतिविधि भए सरकार पछि नपर्ने जवाफ दिइन् ।
प्रधानमन्त्रीसँगको भेटमा बालेनले गृहमन्त्री अर्यालको कार्यशैली र केही मन्त्रीहरूको निष्क्रियताबारे पनि असन्तुष्टि जनाए ।
उनले जेनजीका तर्फबाट सिफारिस भएका गणपतिलाल श्रेष्ठ र अन्य नामहरूबारे थप अध्ययन गरेर अघि बढ्न सुझाव दिएका थिए ।
स्रोतका अनुसार कार्कीले अर्याललाई आफ्नै पहलमा मन्त्री बनाएकी थिइन्
।
बालेनले भने आफूलाई बेवास्ता गरिएको महसुस गर्दै सरकारलाई आन्दोलनको म्यान्डेट कार्यान्वयन गर्न चेतावनी दिएका छन् ।


विश्व खबर 



















प्रतिक्रिया दिनुहोस्