images
images
  • सरकारविरुद्ध संयुक्त आन्दोलन हुँदै, सडकबाटै प्रधानमन्त्री कार्कीलाई हटाउने रणनीतिमा कांग्रेस–एमाले

    काठमाडौं– तत्कालीन प्रतिनिधिसभाका दुई ठूला प्रमुख दल कांग्रेस र एमाले संविधानको रक्षार्थ भन्दै संयुक्त आन्दोलनमा जाने संकेत देखिएको छ ।

    एमालेले प्रतिनिधिसभाको पुनःस्थापना हुनुपर्ने मागसहित देशभर जनप्रर्दशन तथा सद्भाव ¥यालीको आयोजना गर्ने निर्णय गरिसकेको छ ।

    एमालेको पछिल्लोपटक सम्पन्न केन्द्रीय कमिटीको बैठकले पनि वर्तमान सरकार असंवैधानिक किसिमले गठन भएको निष्कर्ष निकाल्दै प्रतिनिधिसभा पुनःस्थापना गर्नुपर्ने ठहर गरेको थियो ।

    यसै क्रममा एमालेले सोमबार अर्घाखाँचीमा संविधानको रक्षा एवं प्रतिगामी षड्यन्त्रका विरुद्ध भन्दै जनप्रदर्शन तथा सद्भाव ¥यालीको आयोजना गरेको छ ।

    एमालेले यस्ता ¥यालीहरू देशभरमा नै गरिने जनाएको छ ।

    २७ भदौमा गठन भएको सुशीला कार्की नेतृत्वको सरकारले प्रतिनिधिसभा विघटन गर्दै २१ फागुनमा निर्वाचनमा जाने निर्णय गरेको थियो ।

    एमाले र कांग्रेस दुवैले कार्की नेतृत्वको सरकार असंवैधानिक भएको ठहर गरेका छन् ।

    यद्यपि, यी दुवै दलले निर्वाचन बहिष्कार गर्ने निर्णय भने गरेका छैनन् ।

    तर, दुवै दल संविधानको रक्षार्थ भन्दै संयुक्त आन्दोलनमा गएको खण्डमा २१ फागुनमा हुने भनिएको निर्वाचन हुन कठिन देखिने विश्लेषकहरू बताउँछन् ।

    दुई प्रमुख दल आन्दोलनमा जाने स्थिति आएमा निर्वाचन कठिन हुन सक्ने विश्लेषकको टिप्पणी छ ।

    कांग्रेस र एमाले दुवैले आफूहरू निर्वाचनको विरोधी नभए पनि सरकारले २१ फागुनमा निर्वाचन गराउने गरी सुरक्षा अवस्था सुदृढ बनाउन नसकेको र निर्वाचनका लागि आवश्यक वातावरण बनाउन नसकेकाले निर्वाचन हुन नसक्ने बताउँदै आएका छन् ।

    कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले प्रतिनिधिसभा असंवैधानिक रूपमा विघटन भएको बताउँदै यसका विरुद्ध प्रतिवाद जरुरी रहेको स्पष्ट पार्नुभएको छ ।

    कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलको ७३औँ स्थापना दिवसका अवसरमा सोमबार पार्टी केन्द्रीय कार्यालय, सानेपामा आयोजित समारोहमा बोल्दै कार्यवाहक सभापति खड्काले जेन–जी आन्दोलनको बलमा गठन भएको अन्तरिम सरकारबाट असंवैधानिक रूपमा प्रतिनिधिसभा विघटन भएको स्पष्ट पार्दै भन्नुभयो– ‘यो क्षणमा सबै तरुण साथीहरूलाई अनुरोध गर्न चाहन्छु कि अत्यन्त जुझारूपनका साथ तर अनुशासित, धैर्य, संयम र जिम्मेवारी बोधका साथ सिंगो देश र नागरिकको रक्षाका लागि एकताबद्ध र संगठित भएर अघि बढ्नुको विकल्प छैन ।’

    उहाँले सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य डा. आरजु राणा देउवामाथि प्राण लिने गरी भएको आक्रमणको निन्दा गर्नुभयो ।

    स्रोतका अनुसार कांग्रेस र एमालेका केही उच्च तहका नेताहरूबीच सरकार असंवैधानिक रूपमा बनेको र प्रतिनिधिसभा पनि असंवैधानिक किसिमले विघटन भएकाले त्यसविरुद्धमा संयुक्त आन्दोलनमा जानुपर्ने गरी विभिन्न चरणमा छलफल भइरहेको छ । ‘सम्भवतः कांग्रेस पनि एमालेले जस्तै देशव्यापी आन्दोलनमा जाने गरी आवश्यक तयारी गरिरहेको छ’ –कांग्रेसका संस्थापन पक्षका एक नेताले भने । ती नेताका अनुसार कांग्रेसले प्रतिनिधिसभा असंवैधानिक किसिमले विघठन भएको बताउँदै आएकाले प्रतिनिधिसभा पुनस्र्थापित हुनुपर्ने मागमा कांग्रेस पनि ढिलो चाँडो समाहित हुने छ । यसो हुँदा कांग्रेस र एमाले दुवैको साझा एजेन्डा नै प्रतिनिधिसभा पुनःस्थापना हुने ती नेताले स्पष्ट पारे ।

    एमालेका महासचिव शंकर पोखरेलले सरकार गठन र प्रतिनिधिसभाको विघठन आफूहरूको पार्टीको सुझावभन्दा भिन्न प्रक्रियाबाट भएकाले सरकार असंवैधानिक भएको स्पष्ट पार्दै भन्नुभएको छ– ‘मुलुकलाई पुनः संविधानको बाटोमा फर्काउनका लागि प्रतिनिधिसभाको पुनःस्थापना आवश्यक छ भन्ने हाम्रो दृढ विश्वास भएकाले देशभरको सिंगो पार्टी पंक्ति त्यसका लागि अघि बढ्नेछ ।’

    कांग्रेसका भ्रातृ संगठन तरुण दलका अध्यक्ष विद्वान गुरुङले त सोमबार तरुण दलको स्थापना दिवसको अवसर पारेर अब आफूहरू वर्तमान सरकारका विरुद्ध आन्दोलनमा जाने उद्घोषसमेत गर्नुभएको छ । अध्यक्ष गुरुङले मुलुकमा व्यवस्था जोगाउन र आफूहरूको अस्तित्व रक्षाका लागि पनि आफूहरूले अब चुप लागेर बस्ने अवस्था नरहेको र छिट्टै आन्दोलनमा जाने स्पष्ट पार्नुभयो । अब सडक संघर्षलाई अघि बढाउनका लागि तयार अवस्थामा रहन पनि तरुण दलका नेता, कार्यकर्तालाई उहाँले निर्देशन दिनुभयो ।

    ‘म तरुण दलका साथीहरूलाई म के आग्रह गर्न चाहन्छु भने हामी चुप लागेर बसेर मात्रै मुलुकमा शान्ति हुँदो रहेनछ । यदि यो मुलुकको व्यवस्था जोगाउने हो भने, यदि तपाईं हाम्रो अस्तित्व जोगाउने हो भने अक यिनीहरूको विरुद्ध सडकमा भिड्ने हो । योभन्दा अब अर्को विकल्प नै छैन,’ उहाँले भन्नुभयो– ‘हामीले यति ठूलो क्षति व्यहोर्न गयौं । अब आउने दिनमा कुनै पनि आन्दोलनहरू, कुनै पनि वादीहरूले गर्ने आन्दोलनहरूमा अब नेपाल तरुण दल सजग रहनेछ । र तयारी अवस्थामा रहन पनि हामी साथीहरूलाई आग्रह गर्दछौं ।’

    प्रतिनिधिसभा असंवैधानिक रूपमा विघटन भएकाले यसको सशक्त प्रतिवाद जरुरी छ ।

    पूर्णबहादुर खड्का कार्यवाहक सभापति, कांग्रेस

    मुलुकलाई पुनः संविधानको बाटोमा फर्काउनका लागि प्रतिनिधिसभाको पुनःस्थापना आवश्यक छ भन्ने हाम्रो दृढ विश्वास भएकाले देशभरको सिंगो पार्टी पंक्ति त्यसका लागि अघि बढ्नेछ ।

    शंकर पोखरेल महासचिव, एमाले

    वर्तमान सरकारका विरुद्ध आन्दोलनमा जाने छौं । मुलुकमा व्यवस्था जोगाउन र पार्टी र संगठनको अस्तित्व रक्षाका लागि पनि अब चुप लागेर बस्ने अवस्था छैन, छिट्टै आन्दोलनमा जान्छौं, तरुण दलका सबै नेता कार्यकर्तालाई तयारी अवस्थामा रहन आग्रह गर्दछु ।

    प्रतिक्रिया दिनुहोस्

    images