images
images
  • कांग्रेस फुटको डिलमा : संस्थापनभन्दा इतरपक्षमा गहिरो मतभेद, शेखर–गगनबीच बेमेल

    काठमाडौं– १५औं महाधिवेशनको पूर्वसन्ध्यामा नेपाली कांग्रेसमा ‘वारपार’को संकेत देखिएको छ ।

    पार्टीको विधानबमोजिम यही मंसिरको अन्तिममा वडादेखि केन्द्रीय समितिसम्मको चारवर्षे कार्यकाल सकिँदै छ ।

    कार्यकाल सकिनासाथ अवैधानिक हुने कांग्रेस केन्द्रीय समितिको कार्यकाल केही समय थपेर महाधिवेशनको तयारी गर्ने संस्थापन पक्षको योजनाप्रति संस्थापनइतर नेताहरू आक्रोशित छन् ।

    असन्तुष्ट पक्ष मंसिरमै महाधिवेशन गर्ने वा विशेष महाधिवेशन बोलाउने पक्षमा छ ।

    जबकि संस्थापन पक्षले विशेष महाधिवेशन नभई २०८३ वैशाखमा नियमित महाधिवेशन गर्ने तयारीमा लागेको नेताहरूले दाबी गरेका छन् ।

    संस्थापनले विशेष महाधिवेशन अस्वीकार गर्दै नियमित महाधिवेशनसमेत लम्ब्याउने भएपछि इतर पक्षका नेताहरू महाधिवेशन प्रतिनिधिहरूको विशेष भेलामा जुटेका छन् ।

    पार्टीको आगामी बैठकको निर्णय हेरेर विशेष महाधिवेशनका लागि भेला बोलाउने तयारी भएको इतर पक्षका नेताहरूले बताए ।

    यसले पार्टी फुटको संघारमा जान सक्ने कतिपय नेताहरूले चिन्ता व्यक्त गरेका छन् । १४औं महाधिवेशनमा शेरबहादुर देउवासँग सभापतिमा पराजित नेता डा. शेखर कोइराला मंसिरमा महाधिवेशन भए विशेष महाधिवेशनको एजेन्डाले समेत पूर्णता पाउने बताउँछन् ।

    ‘अहिले ५४ प्रतिशतको हस्ताक्षरसहित विशेष महाधिवेशनको माग भइसकेको छ । मंसिरभित्रै नियमित महाधिवेशन भए विशेषको एजेन्डा सम्बोधन हुन्छ,’ उनले भने, ‘तर नियमित महाधिवेशनको कार्यतालिका आएन, विशेष महाधिवेशन पनि बोलाइएन भने हस्ताक्षर गरेकाहरूले भेला बोलाउँछन् । त्यसले पार्टी विभाजनको जोखिम बढाउँछ । यसलाई संस्थापन पक्षले गम्भीर भएर सोच्नुपर्छ ।’

    असोज २८ बाट थालेको केन्द्रीय समितिको बैठक चाडपर्वका नाममा स्थगन छ ।

    सोही बैठकले महाधिवेशनको मिति तोकेर आवश्यक तयारी थाल्ने विश्वासमा रहेका शेखर–गगन थापा समूहका लागि संस्थापन पक्षले २ साताका लागि बैठक सारेर झड्का दिएको छ ।

    यसबाट संस्थापनइतर समूह समयमै महाधिवेशन हुनेमा सशंकित छ ।

    जेनजी आन्दोलनको बलमा राजनीतिक सरकार ढलेर गठन भएको नागरिक सरकारले फागुन २१ का लागि प्रतिनिधि सभाको चुनाव घोषणा गरी आवश्यक तयारी अघि बढाएको छ ।

    यही अवस्थामा चुनावमा जाँदा नयाँ नेतृत्वसहितको योजना लिएर जनतामाझ जानुपर्ने संस्थापनइतर पक्षको जोडबल छ ।

    जसअनुसार महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले मंसिरमै महाधिवेशन गर्नेगरी कार्यतालिका पेस गरेका छन् ।

    त्यसो नहुँदा विशेष महाधिवेशन बोलाउनुपर्ने उनीहरूको माग रहेको छ ।

    विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर अभियान चलाएका नेता देवराज चालिसेले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेर पार्टीमा बुझाइसकेको दाबी गरे ।

    उनले मध्यान्हसँग भने, ‘मंसिरमा नियमित महाधिवेशन गर्न केन्द्रीय समिति बैठकले मिति तोकोस् भनेका हौं । समयमा नियमित महाधिवेशन गर्न नसके विशेष महाधिवेशन गरेर जानुपर्ने अवस्थामा कांग्रेस पुगेको भन्दै केन्द्रीय समितिको ध्यानाकर्षण गराइसकेको छौं ।’

    तर पार्टी नेतृत्वको कार्यकाल लम्ब्याउने चाहनाले पार्टीमा विद्रोहका अवस्थासमेत आउन सक्ने संकेत गरेको उनले टिप्पणी गरेका छन् ।

    महामन्त्री थापा र शर्मासहितको समूहले विशेष महाधिवेशन बोलाउन ४ हजार ७ सय ४३ महाधिवेशन प्रतिनिधिमध्ये २ हजार ४ सय ८८ लाई हस्ताक्षर गराएर संस्थापन पक्षलाई दबाब दिएका छन् ।

    विशेष महाधिवेशन बोलाउने अधिकार केन्द्रीय कार्यसमितिलाई छ ।

    केन्द्रीय समितिले नबोलाए ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेर माग गरे केन्द्रीय कार्यसमितिले तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनैपर्ने विधानमा व्यवस्था छ ।

    यद्यपि संस्थापन पक्षले त्यसलाई स्वीकार गरेको अवस्था छैन ।

    २०७८ मंसिर २४–२८ मा भएको १४औं महाधिवेशनबाट निर्वाचित कांग्रेस सभापति शेरबहादुर देउवा जेनजी आन्दोलका क्रममा भएको आक्रमणबाट घाइते भएसँगै उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी सुम्पिएर उपचारका लागि सिंगापुर गएका छन् ।

    केन्द्रीय समितिको नेतृत्व गर्दै आएका कार्यवाहक सभापति खड्काले पार्टीमा दर्ता भएको विशेष महाधिवेशन प्रस्तावलाई नियमितसँग जोडेर सर्वसम्मत निर्णयमा पुगिने बताए ।

    संकटका बेला कांग्रेसले देशलाई निकास दिन मियोको भूमिका निर्वाह गर्ने दाबी गर्दै खड्काले सहमतिमै महाधिवेशनको मिति तोकिने दाबी गरे ।

    ‘पार्टीभित्र व्यापक छलफल चलिरहेको छ, नेताहरूले राखेका खुला विचारलाई एक ठाउँमा जोडेर केन्द्रीय समितिबाट चुनाव र पार्टीको नियमित अधिवेशन तथा भ्रातृ संस्थाका अधिवेशन सबै विषयलाई समेत अगाडि राखेर निर्णय गर्छौं,’ उनले भने । उनी विशेष महाधिवेशनको पक्षमा सहमत भने छैनन् । मंसिरमै नियमित महाधिवेशन हुन सक्ने अवस्थासमेत खड्काले देखेका छैनन् । ‘विशेष महाधिवेशनको प्रस्तावलाई नियमित महाधिवेशनको सीमाभित्र जोडेर सर्वसम्मत निर्णयमा पुग्छौं,’ खड्काले भने ।

    कांग्रेसको अहिलेसम्मको अवस्था हेर्दा मंसिरमा नियमित महाधिवेशन हुने संरचना निर्माण भएको देखिँदैन ।

    यसले नेपाली कांग्रेसमा स्पष्ट दुई ध्रुव देखिँदै पार्टी फुटसम्मको दिशामा जान सक्ने संकेत गरेको छ ।

    नेताहरूले पटकपटक समयमा नियमित महाधिवेशन वा विशेष महाधिवेशन नभएर महाधिवेशन प्रतिनिधिका हिसाबले अल्पमतमा परेको संस्थापन पक्षलाई उखलेर फाल्ने चेतावनी दिँदै आएका छन् ।

    हस्ताक्षर अभियानको नेतृत्व गरिरहेका नेता गुरुराज घिमिरेले मंसिरमा नियमित महाधिवेशन नगर्ने हो भने विशेष महाधिवेशन गरेर पार्टी रूपान्तरण चरणमा जानुपर्छ भन्ने वैधानिक माग गरिएको बताउँदै सडकमा भेला गरेर बार्गेनिङ गर्न नखोजेको स्पष्टीकरण दिएका छन् ।

    ‘पहिलो सर्त नियमित महाधिवेशन र यही त्यसो नभएर वैधानिक व्यवस्थाअनुसार बहुमतभन्दा बढी महाधिवेशन प्रतिनिधिको आह्वानमा विशेष महाधिवेशन भनेका हौं,’ उनले भने, ‘यसको विकल्प खोजियो भने महाधिवेशन प्रतिनिधिहरूको भेलाबाट पार्टीले विधानअनुसार नै आफ्नो गति लिन्छ ।’

    गत असोज मसान्तभित्र क्रियाशील सदस्यताको काम सक्ने कार्ययोजना बनाएको थियो ।

    सो कार्ययोजनाअनुसार क्रियाशील सदस्यता नवीकरण तथा वितरणको नेतृत्व गर्दै आएका महामन्त्री गगन थापाले समेत महाधिवेशनको पूर्वाधान तयारीमा काम नगरेको आरोप खेप्दै आएका छन् ।

    पार्टीको महामन्त्रीले नियमित महाधिवेशनको तयारी गर्न छाडेर विशेष महाधिवेशनको मुद्दा बोक्नुले उनीहरूप्रति समेत शंका उत्पन्न भएको युवा नेता भूपेन्द्रजंग शाहीले बताए ।

    उनले भने, ‘महामन्त्रीहरूले नै नियमित महाधिवेशन रोकेर विशेष महाधिवेशनका नाममा आफ्नो कार्यकाल थप्न खोजेका हुन् कि भन्ने शंका उत्पन्न भएको छ । नत्र क्रियाशील सदस्यताको काम सकेर आवधिक महाधिवेशनको संरचना तयार गर्न उहाँहरूलाई केले रोकेको थियो भन्ने प्रश्न उब्जिएको छ ।’

    विधानअनुसार एक वर्ष कार्यकाल थप्न पाउने सहुलियतको उपयोग गर्ने तहमा पुगेका संस्थापन पक्षका नेताहरू जेनजी आन्दोलनपछि बदलिएको राजनीतिक परिस्थितिअनुसार ६ महिना मात्रै समय थप गरेर महाधिवेशन गर्न चाहेको देखिन्छ ।

    संस्थापनकै केही नेता र संस्थापनइतर पक्ष भने कार्यकाल सकिनासाथ पार्टीमा नयाँ नेतृत्व ल्याउन नसके आगामी निर्वाचनमा जान नसकिने पक्षमा छन् ।

    यही नेतृत्वबाट टिकट लिएर यही स्थितिमा फागुन २१ को निर्वाचनमा जनतामा जाँदा पार्टीको खास बचाउन नसकिने केन्द्रीय सदस्य डा. गोविन्दराज पोखरेलले बताए ।

    समयमै नियमित महाधिवेशन नहुँदा पार्टीमा विद्रोहको बिउ रोपिन सक्ने उनको आँकलन छ ।

    तर संस्थापन पक्षका नेता समय अभावको कारण देखाउँदै प्रतिनिधि सभाको निर्वाचनपछि मात्रै पार्टी महाधिवेशन गर्नुपर्ने बताउँछन् ।

    संस्थापन पक्षका नेता एवं पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले कात्तिक १३ बाट हुने केन्द्रीय समितिको बैठकले नियमित महाधिवेशनका सन्दर्भमा निर्णय लिने बताए ।

    सरकारले आमनिर्वाचन गर्ने तयारी गरिसकेकाले पार्टीका आमनेता कार्यकर्ता एक भएर निर्वाचनतर्फ ध्यान दिनुपर्ने समय आएको उनले बताए ।

    ‘निर्वाचन हुने भए पार्टी त्यसतर्फ केन्द्रित हुनुपर्ने हुँदा पार्टीको महाधिवेशन चुनावपछि नै गर्नु उपयुक्त हुन्छ,’ महतले भने, ‘केन्द्रीय समिति र महाधिवेशन प्रतिनिधिसमेतको चार वर्षीय कार्याकाल मंसिर अन्तिममा सकिँदै छ ।

    त्यसकारण विशेष महाधिवेशनमा जान सक्ने अवस्था रहँदैन ।

    केन्द्रीय समितिको बैठकले नियमित महाधिवेशनकै लागि मिति तय गर्छ ।’

    प्रतिक्रिया दिनुहोस्

    images