काठमाडौं– सभापति शेरबहादुर देउवाले सक्रिय राजनीतिबाट साइड लिएर कार्यवाहक जिम्मेवारी पूर्णबहादुर खड्कालाई हस्तान्तरण गरेको दुई हप्ता बितिसक्दा पनि कांग्रेसका आन्तरिक समस्या ज्यूँका त्यूँ छन् ।
देउवाको निष्क्रियताले गुटबन्दीको टकराव कम गर्ने अपेक्षा थियो, तर मंसिरभित्र १५औं महाधिवेशन गर्ने कि नसक्ने भन्ने विवादले झन् पार्टीभित्र तनाव बढाएको छ ।
महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा र नेता शेखर कोइराला मंसिरभित्रै महाधिवेशन हुनुपर्ने अडानमा छन्, जबकि संस्थापन पक्षले तयारी अभाव देखाउँदै समय थप्नुपर्ने धारणा लिएको छ ।
क्रियाशील सदस्यता र संगठनात्मक प्रक्रिया पूरा गर्न समय कम भएकाले अब मंसिरमा महाधिवेशन असम्भवजस्तै भएको छ ।
कार्यवाहक सभापति खड्काले २ कात्तिकमा बस्ने भनिएको बैठक १३ कात्तिकमा सारेका छन्, जसपछि मात्रै महाधिवेशनबारे ठोस निर्णय आउनेछ ।
संस्थापन पक्षका प्रवक्ता डा. प्रकाशशरण महतले फागुन वा वैशाखतिर चुनाव लक्षित व्यावहारिक निर्णय लिनुपर्ने बताउँछन् ।
उनका अनुसार निर्वाचनको तयारीसँगै अधिवेशनको कार्यतालिका तय गरेर अघि बढ्नु उपयुक्त हुन्छ ।
तर, शेखर–गगन पक्षका नेताहरू तत्काल महाधिवेशन वा विशेष अधिवेशन बाहेक अर्को विकल्प छैन भन्नेमा अडानमा छन् ।
अजयबाबु सिवाकोटीका अनुसार ५४ प्रतिशत प्रतिनिधिले विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर गरिसकेका छन् र त्यसअनुसार कदम चाल्नुपर्ने अवस्था बनेको छ ।
संस्थापन पक्ष समय थप्ने तयारीमा रहँदा विपक्षीहरू विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गरेर चुनावमा जाने तयारीमा छन् ।
अब कांग्रेसले नियमित वा विशेष जे भए पनि महाधिवेशनको स्पष्ट निर्णय गर्नैपर्ने दबाबमा छ ।
कांग्रेसले नियमित वा विशेष महाधिवेशन गरे पनि इतर समूहका शेखर कोइराला र गगन थापाबीच प्रतिस्पार्धा हुने पक्का छ ।
यस्तो अवस्थामा कार्यवहाक सभापति पूर्णबहादुर खड्काको पल्लाभरी हुने सम्भावना बलियो रहेको कांग्रेस नेताहरू बताउँछन् ।


विश्व खबर 

















प्रतिक्रिया दिनुहोस्