images
images
  • माओवादी–एकीकृत समाजवादी एकतामा फेरि जनार्दन–झलनाथ समूहको भाँजो, विप्लवले के गर्लान् ?

    काठमाडौं– सधैं गुटबन्दी र विभाजनमा अल्झिँदै आएका कम्युनिस्ट दलबीच फेरि एकता हुने चर्चा तातेको छ ।

    विशेषगरी नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) बीच एकताको पहल भइरहेको छ भने अन्य वामपन्थी दलहरूसँग पनि छलफल जारी छ ।

    जेन्जी आन्दोलनपछि बनेको अन्तरिम सरकारले तोकेको आगामी निर्वाचनमा मत विभाजन रोक्न र ठूला दलसँग प्रतिस्पर्धा गर्न सजिलो होस् भन्ने उद्देश्यले वाम दलहरू एकताको तयारीमा जुटेका छन् ।

    माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले घनिभूत छलफल भइरहेको तर अन्तिम निर्णय भइसकेको छैन भन्दै स्पष्ट पारेको छ ।

    प्रवक्ता अग्निप्रसाद सापकोटाले पनि समाजवादी मोर्चामा आबद्ध दलहरूसँग छलफल जारी छ तर टुंगो लागिसकेको छैन भनेका छन् ।

    महाधिवेशन आयोजक समिति सदस्य मनऋषि धितालका अनुसार नेताबीच सहमति भए पनि तल्लो तहका संरचना र कार्यकर्ताबीच समायोजन अझै चुनौतीपूर्ण छ ।

    उनले भने, ‘माधव नेपालको समाजवादीको ट्रेन्ड एमालेसँग मिल्दोजुल्दो भएकाले नयाँ एकतामा फरकपन आवश्यक छ ।’

    तर, एकता–बहस सबैले समान रूपमा नलिएका छैनन् ।

    एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालले माओवादीसँग तत्काल एकता सम्भव नभएको बताएका छन् ।

    भुसालका अनुसार एकता प्रिय कुरा हो, तर उद्देश्य र आधार स्पष्ट हुनुपर्छ ।

    असफल नेतृत्वले पुनर्मूल्यांकन गरी नयाँ मार्ग रोज्नुपर्छ ।

    यसैबीच, माओवादीबाट अलग भएका नेत्रविक्रम चन्द ‘विप्लव’ले पनि एकताको आधार अझै बनेको छैन भन्दै नयाँ ढङ्गको कम्युनिस्ट आन्दोलन पुनर्निर्माण गर्नुपर्ने बताएका छन् ।

    माओवादी उपमहासचिव जनार्दन शर्माले पनि एकीकृत समाजवादीसँग एकता गर्न नहुने धारणा राख्दै आएका छन् ।

    इतिहासमा पटक–पटक भएको एकताले स्थायित्व र विश्वास निर्माण गर्न नसकेको अनुभवले पनि वाम दलहरूलाई अहिले सावधानीपूर्वक अघि बढ्न बाध्य बनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images