काठमाडौं– रास्वपा, बालेन शाह, कुलमान घिसिङ, गोपी हमाल र जेन्जी समूहलाई एकीकृत गरी नयाँ राजनीतिक शक्ति बनाउने प्रयास नेतृत्वको विषयमा सहमति नजुट्दा अलपत्र परेको छ ।
तीन सातादेखि जारी छलफलमा दलको नाम रास्वपा नै राख्ने सहमति भए पनि पार्टी प्रमुख को हुने ? भन्नेमा मतभेद छ ।
सबैले रास्वपा सभापति रवि लामिछानेलाई सम्मानजनक भूमिकामा राख्ने सहमति जनाए पनि उनीमाथि मुद्दा रहेकाले कार्यकारी जिम्मेवारी केही समयका लागि नलिन आग्रह गरिएको छ ।
तर, रवि सभापति पद छाड्न तयार नभएकाले कुरा अड्किएको हो । बालेनपक्षले कुलमान घिसिङलाई सभापति बनाउने प्रस्ताव गरेको छ ।
उनीहरूको बुझाइमा यसो गर्दा पार्टी सर्वस्वीकार्य हुने र चुनावमा राम्रो नतिजा निकाल्न सकिनेछ ।
रवि कारागारमै रहेका कारण तत्काल उनीलाई कार्यकारी भूमिकाबाट हटाउनुपर्ने मत बढ्दै गएको छ ।
तर, रविले आफूलाई अन्याय भएको भन्दै सभापति नछोड्ने अडान लिएका छन् ।
रास्वपा, कुलमान, बालेन, जेनजी लगायतबीच सहकार्यका लागि संवाद जारी छ ।
सहमहामन्त्री गणेश पराजुलीका अनुसार कांग्रेस, एमाले र माओवादीको वर्चस्व तोड्न नयाँ शक्ति निर्माणको तयारी भइरहेको छ ।
तर, रास्वपाभित्रकै केही नेताहरू भने सभापति पद बाहिरका व्यक्तिलाई सुम्पिने पक्षमा छैनन् ।
उनीहरूको भनाइमा रास्वपाले सभापति छाडेर अर्को व्यक्तिलाई भित्र्याउँदैन, यो पद बार्गेनिङको विषय बन्न सक्दैन ।























