काठमाडौं– जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीको आक्रमणबाट असई मिलन राय र जवान उत्तम थापाको मृत्यु भएको घटनामा संलग्न आरोपमा प्रहरीले थप पाँच जना पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा गोरखाका सोम गुरुङ, तनहुँका राजीव गुरुङ, युनिक श्रेष्ठ, सर्लाहीका सुमित तितुङ र रामेछापका दीपक मगर रहेका छन् ।
उनीहरूलाई भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौंमा राखी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यसअघि महाराजगन्जमा कार्यरत दुई प्रहरीको हत्यामा संलग्न आरोपमा युवराज क्याप्छाकी, सोनाम तामाङ (बुद्धिलाल थिङ), होम प्रसाद पौडेल र टिकाराम बिकलाई पुर्पक्षका लागि कारागार चलान गरिएको थियो ।
प्रहरी अनुसन्धानअनुसार क्याप्छाकी र थिङले जवान थापाको हत्या गरेका थिए भने पौडेल र बिक असई रायको हत्यामा संलग्न थिए ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार हाल पक्राउ परेकामाथि अनुसन्धान पूरा गरी पूरक प्रतिवेदन अदालतमा पेस गरिने तयारी भइरहेको छ ।























