काठमाडौं– अन्तरिम सरकारको मन्त्री बन्ने चर्चामा रहेका खगेन्द्र सुनार दुईवटा मुद्दामा फरार अभियुक्त रहेको नेपाल प्रहरीले पुष्टि गरेको छ ।
प्रहरी प्रधान कार्यालयको चालचलन शाखाका अनुसार सुनारका नाममा काभ्रे र सुर्खेत जिल्ला अदालतबाट जारी दुई पक्राउ पुर्जी अझै कार्यान्वयन भएका छैनन् ।
काभ्रेपलाञ्चोक जिल्ला अदालतमा दर्ता भएको विद्युतीय कारोबारसम्बन्धी मुद्दा अझै फर्स्यौट नभएको प्रहरी रेकर्डमा छ ।
त्यस्तै, सुर्खेत जिल्ला अदालतले २०८१ असार २१ मा मेहेलकुना अस्पतालका प्रमुख डा. सोजन सापकोटामाथि हातपात र अस्पताल तोडफोडको अभियोगमा सुनारलाई पक्राउ गर्न आदेश दिएको थियो ।
अदालतले सो आदेश कार्यान्वयन नगरेपछि सोही वर्ष मंसिरमा फेरि ताकेता समेत गरेको थियो ।
सुनारविरुद्ध सर्वोच्च अदालतमा पनि अधिवक्ता मनिषा गौतमले दायर गरेको मानहानीसम्बन्धी मुद्दा विचाराधीन छ ।
नवराज विक प्रकरणको फैसलाप्रति असन्तुष्ट हुँदै अदालत परिसरमै हुलहुज्जत र तोडफोड गरेको आरोपपछि गौतमले गत वैशाख २१ मा मुद्दा दर्ता गराएकी हुन् ।
उक्त विवादपछि सुनारले न्यायाधीश सपना मल्ल प्रधान र अधिवक्ता गौतमलाई सामाजिक सञ्जालमार्फत गालीगलौज गरेका थिए ।
उनले गौतमको तस्बिर र फोन नम्बरसहित “तँ नेपाल बारकी होस् कि ठमेल बारकी” भन्ने स्टाटस लेखेपछि गौतमले साइबर ब्यूरोमा जाहेरी दिएकी थिइन्, तर ब्यूरोले काभ्रे अदालतमा जान सुझाव दिएको थियो ।

























