images
images
  • अधिक तरलता कायमै रहेपछि ९० अर्ब निक्षेप तान्दै राष्ट्र बैंक

    काठमाडौं– तिहारपछि पनि अधिक तरलता कायमै रहेपछि नेपाल राष्ट्र बैंकले (आज) आइतबार ९० अर्ब निक्षेप तान्दै छ ।

    निक्षेप संकलन उपकरण बोलकबोलमार्फत राष्ट्र बैंकले निक्षेप तान्न लागेको हो ।

    अहिले कुल निक्षेप ७४ खर्बभन्दा बढी पुगेको छ ।

    केन्द्रीय बैंकले वित्तीय प्रणालीको अधिक तरलता र ब्याजदर व्यवस्थापनका लागि निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत तरलता तान्दै आएको छ ।

    बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् ।

    दीर्घकालीन निक्षेप संकलन रकम बाँडफाँट गर्दा काउन्टर पार्टीहरूले बोल गरेका ब्याजदरअनुसार सबैभन्दा कम दर बोल गर्ने रकम प्राथमिकता क्रममा राखी आह्वान गरेको रकमसम्म क्रमशः बाँडफाँट गरिनेछ ।

    निक्षेप चुलिँदा आज अनलाइन खरिद प्रणालीमार्फत बोलकबोल गर्न लागिएको छ ।

    ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ । आज बोलकबोल हुने निक्षेप संकलन उपकरणको सावाँ तथा ब्याज २०८२ मंसिर २१ गते भुक्तानी हुने राष्ट्र बैंकले जानकारी दिएको छ ।

    बोल गर्न सकिने रकम न्यूनतम १० करोड रुपैयाँ र अधिकतम पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म हुनेछ । –न्युज एजेन्सी नेपाल

    प्रतिक्रिया दिनुहोस्
    images
    images