काठमाडौं– नेपाली कांग्रेसको १५औं महाधिवेशनलाई केन्द्रमा राखी पार्टीभित्र चर्चा–परिचर्चा तीव्र भइरहेकै बेला केन्द्रीय समितिको बैठक असोज ३० बाट सुरु भई अब १३ कात्तिकदेखि पुनः नियमित हुने भएको छ ।
असोज २८ गतेको बैठकमा सभापति शेरबहादुर देउवाले सक्रिय राजनीतिबाट अवकाश लिँदै उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका थिए ।
देउवाको सहज बहिर्गमनले कांग्रेसभित्र नयाँ नेतृत्व उदाउने मार्ग प्रशस्त गरेको छ ।
खड्काको नेतृत्वमा जारी बैठक तिहार र छठका कारण स्थगित भए पनि, पुनः सुरु हुने बैठकले पार्टी रूपान्तरण, नेतृत्व पुस्तान्तरण र १५औं महाधिवेशनको कार्यतालिकाबारे निर्णायक निर्णय गर्ने अपेक्षा गरिएको छ ।
सभापतिका लागि तीन प्रमुख दाबेदारको प्रतिस्पर्धा रोचक देखिएको छ ।
उनीहरूमध्ये कार्यवाहक सभापति पूर्णबहादुर खड्का, संस्थापनइतर समूहका शेखर कोइराला र युवा पुस्ताबाट गगन थापा छन् ।
कोइराला नियमित मंसिर महाधिवेशनको पक्षमा सक्रिय छन् ।
थापा युवालाई एकीकृत गर्दै नेतृत्वमा आउने तयारीमा छन् ।
खड्का संस्थापन पक्षको साझा उम्मेदवार बन्ने सम्भावनासहित समर्थन विस्तारमा जुटेका छन् ।
महामन्त्री थापा र विश्वप्रकाश शर्माले मंसिरमै नियमित महाधिवेशन गर्न प्रस्ताव पेश गरिसके पनि संस्थापन पक्ष चैतसम्मका लागि तयारी गर्नुपर्ने अडानमा छ ।
यही विषयमा आगामी बैठक निर्णायक बन्ने भएकाले कांग्रेसको यो बैठकलाई पार्टीको भविष्य निर्धारण गर्ने मोडको रूपमा हेरिएको छ ।























