images
images
  • माओवादी, एस र नेकपा एकता : अध्यक्ष प्रचण्ड–नेपाल, महासचिव विप्लव बन्ने पक्का

    काठमाडौं– नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादीबीच पार्टी एकता घोषणाको अन्तिम तयारी भइरहेको छ ।

    माओवादी केन्द्रले माओवाद र हँसिया–हथौडा चिन्ह त्याग्ने सहमति जनाएको छ भने एकीकृत समाजवादीले माओवादीले अघि सारेको संगठनात्मक ढाँचा स्वीकार गर्ने प्रतिबद्धता जनाएको छ ।

    एकता वार्तामा माओवादीका उपमहासचिव वर्षमान पुन र समाजवादीका उपाध्यक्ष वेदुराम भुसाल संयोजक छन् ।

    अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालबीच पनि नेतृत्व बाँडफाँटबारे छलफल जारी छ ।

    उपाध्यक्ष तथा प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार दुवै दलबीच मार्क्सवाद–लेनिनवादलाई साझा सिद्धान्त मानेर समाजवादी पार्टी निर्माण गर्ने सहमति भइसकेको छ ।

    उनका अनुसार, जेनजी विद्रोहले कम्युनिस्ट पार्टीहरूलाई आत्ममूल्यांकन गर्न बाध्य बनाएको र यही पृष्ठभूमिमा एकता प्रयास अघि बढेको हो ।

    “कम्युनिस्टहरू अलगअलग हुँदा जनमत विभाजित भएको छ, त्यसलाई एकताबद्ध बनाउन बृहत् एकताको अभ्यास भइरहेको हो,” खतिवडाले बताए ।

    तर, माओवादीका महासचिव देव गुरुङका अनुसार, बृहत्तर एकता प्रयासका कारण अहिले घोषणा गर्ने अवस्था बनेको छैन ।

    उनका अनुसार, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको दल र अन्य समाजवादी दलबीच सैद्धान्तिक सहमति टंगिन बाँकी नै रहेको छ ।

    विप्लव नेतृत्वको पार्टी नेकपासँग एकता पश्चात् मूल नेतृत्वमा प्रचण्ड–माधव र विप्लवलाई महासचिव बनाउने सहमति भएको बताइएको छ ।

    माओवादी र समाजवादीले एमालेसँग भने एकताको पहल नगरेका छन् ।

    उनीहरूको भनाइमा, “कम्युनिस्ट एकताको प्रमुख बाधक केपी शर्मा ओली भएकाले” एमालेसँग सहकार्य सम्भव छैन । खतिवडाले भने, “ओली नेतृत्व परिवर्तन भएमा मात्रै देशमा एकीकृत कम्युनिस्ट पार्टी बन्ने सम्भावना खुला हुनेछ ।”

    प्रतिक्रिया दिनुहोस्
    images
    images