काठमाडौं– ट्रंक तथा डेडिकेटेड लाइनको महसुल विवाद टुंगोमा नआएपछि नेपाल विद्युत् प्राधिकरणले थप १८ उद्योगको बिजुली काटेको छ ।
प्राधिकरणका प्रवक्ता राजन ढकालका अनुसार, सरकारी स्वामित्वका उदयपुर र हेटौँडा सिमेन्टबाहेक बाँकी सबै विवादित उद्योगको लाइन शुक्रबार साँझ काटिएको हो ।
यसअघि लक्ष्मीपूजाको भोलिपल्ट जगदम्बा स्टिल, रिलायन्स स्पिनिङ मिल्स, शिवम् सिमेन्ट, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट र त्रिवेणी स्पिनिङ मिल्सको लाइन काटिएको थियो ।
चेतावनीपछि पनि किस्ता नतिरेकाले थप उद्योगको लाइन काटिएको प्राधिकरणले जनाएको छ ।
हालसम्म १४ उद्योगले पहिलो किस्ता बुझाएका छन् ।
डाबर नेपाल र सुदूरपश्चिम हवाई कार्यालयको लाइन भने धरौटी रकम पर्याप्त भएकाले काटिएको छैन ।
त्यस्तै, अरिहन्त मल्टिफाइबर, रघुपति जुट मिल, बाबा जुट मिल, युनाइटेड सिमेन्ट, मारुती सिमेन्ट र पोलिप्याक्स अदालत पुगेका कारण तिनको लाइन पनि आदेशअनुसार काटिएको छैन ।
असोज १० गतेको सञ्चालक समितिको निर्णयअनुसार महसुल उठाउने तयारी भए पनि उद्योगीहरूले शुल्कलाई अन्यायपूर्ण भन्दै नतिर्ने अडान लिएका छन् ।


विश्व खबर 


















