काठमाडौं– पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले माओवादी केन्द्रसहितका वाम घटकसँग पार्टी एकताका लागि ‘ग्रिन सिग्नल’ दिएका छन् ।
असोज २६ गतेको सचिवालय बैठकमा एकता प्रस्तावको विरोध गरे पनि अध्यक्ष माधव नेपालसँगको लामो कुराकानीपछि खनाल सकारात्मक बनेका हुन् ।
भारतको नयाँ दिल्लीमा श्रीमतीको उपचारमा रहेका खनालले प्रारम्भमा एकताको समय नआएको भन्दै अपिल गरेका थिए ।
तर, अध्यक्ष नेपालले मार्गदर्शक सिद्धान्त र कार्यदिशाबारे स्पष्ट जानकारी गराएपछि उनले विचार र सिद्धान्तसहितको वाम एकताको समर्थन गरेको एकीकृत समाजवादीका नेता डा. बेदुराम भुसालले बताए ।
भुसालका अनुसार निर्वाचन आयोगको दल दर्ता अवधिअघि नै एकता घोषणा हुने सम्भावना छ ।
एकताप्रति असन्तुष्ट महासचिव घनश्याम भुसाललगायत नेताहरूसँग पनि नियमित संवाद भइरहेको उनले बताए ।
पार्टी एकताका लागि माओवादी, विप्लव समूह, नेसपा, जसपा र प्रेमबहादुर सिंह समूहसँग पनि छलफल जारी रहेको जानकारी उनले दिए ।


विश्व खबर 

















प्रतिक्रिया दिनुहोस्