images
images
  • ओलीकै कारण एमाले महाधिवेशन भाँडिँदै, छैन कुनै तयारी

    काठमाडौं– एमालेले नियमित समयभन्दा १३ महिना अघि एघारौँ महाधिवेशन गर्ने निर्णय गरेको छ ।

    २०७८ मंसिरमा दशौँ महाधिवेशन गरेको पार्टीले हालैको केन्द्रीय कमिटी बैठकबाट आगामी मंसिर २७–२९ गते पोखरामा महाधिवेशन गर्ने मिति तय गरेको हो ।

    तर, अध्यक्ष केपी शर्मा ओलीले यो मिति आफ्ना विरुद्ध उठेको राजीनामा मागको दबाब टार्न मात्र प्रस्ताव गरेको आशंका नेताहरूको छ ।

    किनभने कार्यतालिका, सदस्यता प्रमाणीकरण र प्रतिनिधि छनोटको प्रक्रिया अझै टुंगो लागेका छैनन् ।

    नेताहरूका अनुसार यसपटक १४–१५ उपसमिति गठनदेखि तयारीसम्मका काम रोकिएका छन् ।

    ‘महाधिवेशन मिति नतोकेको भए विरोध तीव्र हुन्थ्यो,’ एक नेताले भने, ‘२२ जनाले ओलीको राजीनामा मागेका थिए, ५० जनाले पार्टी पुनर्गठनको प्रस्ताव दिएका थिए ।’

    यद्यपि, केही नेताहरूले विधानअनुसार मिति तोक्न केन्द्रीय कमिटी पर्याप्त भएको र बाँकी काम पछि अनुमोदन गर्न सकिने धारणा राखेका छन् ।

    संगठन विभाग प्रमुख काशीनाथ अधिकारीका अनुसार दुई हप्ताभित्र सदस्यता प्रमाणीकरण सकिने र प्रतिनिधि छनोट सजिलै भ्याउने योजना छ ।

    तर, धनुषा–रौतहटमा सदस्यता विवाद बाँकी भएकाले केही नेतामा अझै अलमल छ ।

    जनसंगठन प्रमुख भानुभक्त ढकालले भने, ‘मिति र ठाउँ तय भइसकेकाले काम गर्दा भ्याइन्छ, नेतृत्व चयनका लागि यही महाधिवेशन हो,’ भनेका छन् ।

    पोखरा छानिएको विषयमा पनि छलफल बिना निर्णय भएको भन्दै कतिपय नेताहरू आश्चर्यचकित भए पनि प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले वातावरण र पहुँचका कारण पोखरा उपयुक्त भएको दाबी गरेका छन् ।

    जेन–जी आन्दोलनपछि बढ्दो दबाबबीच ओलीले महाधिवेशनमार्फत आफ्नो नेतृत्व बलियो पार्ने प्रयास गरिरहेको पार्टीभित्रको बुझाइ छ ।

    प्रतिक्रिया दिनुहोस्

    images