- जेनजी आन्दोलनलाई ध्वसांत्मक बनाउन मुख्य भूमिका खेलेर अन्ततः असहाय बनेर हेलिकोप्टरमा भागेका ओलीले अझै नचेत्नु दुर्भाग्यपूर्ण
काठमाडौं– नेकपा (एमाले) का अध्यक्ष एवम् निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले अस्ति २ कार्तिक अर्थात तिहार शुभारम्भको पहिलो दिन दिउँसो एक बजे कोटेश्वरस्थित होटल ए वान भेन्यूमा सम्पादकहरूसँग छलफल गरे । त्यसक्रममा ओलीले एउटा निकै महत्वपूर्ण र संवेदनशील सूचना ‘खुलासा’ गरे ।
उनले भने, ‘पदबाट राजीनामा दिएपछि म सेनाको सुरक्षाभित्र रहेँ । यसलाई तपाईंहरु जेसुकै संज्ञा दिन सक्नुहुन्छ, म सेनाको सुरक्षामा थिएँ । प्रधानमन्त्रीको शपथ ग्रहण अगाडिसम्म मेरो मोबाइल सिज गरिएको थिया । त्यसैले २७ गते (भदौ) बेलुकासम्म म कन्ट्याक्टमा रहिनँ ।’
शीर्ष नेताहरुलाई ‘सुरक्षाका लागि’ नियन्त्रणमा लिएपछि सेनाले उनीहरुको फोन ‘कब्जा’ मा लिएको ‘ओपन सेक्रेट’ भइसकेको थियोे । तर, ओलीकै मुखबाट ‘खुलासा’ हुनु थप सबुत त हो नै, आगामी राजनीतिक यात्राका लागि निकै नै संयमता, सचेतता एवम् सर्तकता अपनाउनु पर्ने महत्वपूर्ण पूर्व संकेत समेत हो ।
सेनाको नियन्त्रणमा रहदा मोबाइल नै कब्जा गरिएको खुलासा गरेका ओलीले आगामी राजनीतिक यात्राका लागि पाइला–पाइलामा अपनाउनु पर्ने संयमता, सचेतता एवम् सर्तकताका सवालमा भने पटक–पटक प्रतिशोध, क्रोधलाई नै दोहोर्याए । कतिसम्म भने उनले ‘यस्तै अराजकता चलिरहे फेरि आफू प्रधानमन्त्रीमा फर्किने’ दाबी समेत गरे ।
सम्पादकहरुको त्यही भेटघाटमा ओली भन्दै थिए, ‘यस्तै भयो भने केपी ओली फेरि प्रधानन्त्रीमा फर्किने सम्भावना बढ्छ । जनताले यो कुरा सहँदैन नि, किन सहने ? अरुबाट हुने रहेनछ । यस्तो अराजकता । तपाईंहरुले (सम्पादकहरु) विशेष सम्पादकीय लेखेर केपी ओली फिर्ता ल्याउँ भनेर लेख्नुहुन्छ । नलेख्नुपर्ने कारण छन् भने भन्नुस ।’

यो र यस्तै हठले ओली आत्मसमीक्षा गर्न, सच्चिएर यात्रालाई सुल्टो गतिबाट अघि बढाउन पटक्कै तयार छैनन् भन्ने देखिन्छ । होइन भने २४ भदौको जेनजी विद्रोहको विध्वंसमा ज्यान जोगाउन बाध्य भएर पदबाट राजीनामा दिएर बालुवाटारबाट हेलिकप्टरमा भागेका ओली त्यसको ठिक ४० दिनमा सम्पादकसँग प्रकट हुँदा प्रतिशोध, क्रोधलाई नै आफ्नो प्रमुख अस्त्र बनाउन उद्यत हुने थिएनन् ।
जेनजी आन्दोलन चर्किरहदा राज्यको कार्यकारी प्रमुख भए पनि सम्पूर्ण गुप्तचरी सूचनाबाट कटेका वा सुरक्षा निकायका प्रमुखहरुले दिएका सूचनालाई उपेक्षा गरी असाहय बनेर भाग्न बाध्य भएका ओलीले धमास दिन चाहिँ अझै छाडेका छैनन् । उमेरले ओलीभन्दा नेटो काटेका देउवा बाध्य भएरै सही, जेनजी आन्दोलनको मर्मलाई बुझ्न र झुक्न तयार भए । तर, ओली हठ ज्युँकात्युँ छ । युवा मर्म र भावना विरुद्ध अन्टसन्ट नै बोलिरहेका छन्, ओली ।

सुझावको उपेक्षा
जेनजी आन्दोलन सुरु हुनु निकै अघिदेखि नै तत्कालीन प्रधानमन्त्री ओली र दलका शीर्ष नेताहरुलाई राजनीतिमा पारदर्शिता, नैतिकता, इमान चाहने ठूलो पक्तिले सच्चिन बारम्बार आग्रह गरेका थिए । भ्रष्टाचारमा चुर्लुम्म नडुब्न, भ्रष्टाचार विरुद्ध शक्तिशाली आयोग गठन गर्न, हरेक नियुक्ति भागवण्डा र उठौती फिरौतीमा नगर्न, सुशासनको प्रत्याभूति दिन सुझाव दिएका थिए । अवस्था ज्युँकात्युँ रहे व्यवस्था नै फेरिन सक्ने, प्रधानमन्त्री ओलीलगायत त्यो ‘र्याकेट’ मा सहभागीहरु देशै छाडेर भाग्नु पर्ने भविष्यवाणी पनि गरेकै थिए ।
तर ती सुझाव, सुचकांक र भविष्यवाणीहरुलाई ओलीलगायत शीर्ष नेताहरुले कहिल्यै गम्भीर रुपमा लिएनन् । सत्यसँग साक्षात्कार गरेर सच्चिनुको सट्टा यति फिका बनाएर उडाई दिए कि ‘षडयन्त्रकारी रातो चेहरा’ मा मुस्कुराउँदै ‘हामीलाई हेलिकोप्टर चढेर भाग्ने देख्ने ?’ यो श्रीलंका होइन, यो बंगलादेश होइन, यो केपी ओलीले नेतृत्व गरेको नेपाल हो’ भनेर प्रतिशोधात्मक शैलीमा पटक–पटक व्यंग्य गरे, ओली स्वयंमले । आफू र आफूजस्तै निश्चित ‘जुका वर्ग’ (अरुको रगत चुसेर आफू मोटाउने) ले परिस्थिति श्रीलंका, बंगलादेशभन्दा दयनीय तथा आक्रोशित बनाइसकेको रतिभर ख्याल गरेनन् । ओलीहरुले अझै पनि ख्याल गर्न सकेका छैनन कि २३ र २४ भदौको परिस्थिति एकाएक आएको होइन, हुँदै होइन । यो त शासकहरु स्वंयमले लामो समयदेखि निम्त्याएको परिघटना हो ।
निकट भविष्यको तितो यथार्थ देखाई दिनेहरुप्रति व्यंग्य गरेको लामो समय नबित्दै उनै ओली सेनाको हेलिकोप्टरमा चढेर सैन्य ‘ब्यारेक’ मा भाग्नु पर्यो । नौ दिनसम्म सैन्य ब्यारेकमा शरण लिएका ओली सार्वजनिक भएकै दिन यथार्थ ओकल्न बाध्य भए ‘सेनाको हेलिकोप्टरले उद्धार गर्न पाँच मिनेट मात्र ढिलो गरेको हुन्थ्यो भने मेरो ज्यान लिने थिए ।’
तर, यस्तो दयनीय एवम् ध्वंसात्मक अवस्था सृजना हुनुमा आफू र आफूहरुको र्याकेटको घातक भूमिका नै पहिलो कारण हो भन्ने राजनीतिलाई ‘लुट र मस्ती गर’ को साधन बनाउने ओली एवम् उनीजस्तै शीर्ष गिरोहहरुले अझै पनि स्वीकार गर्न सकेका छैनन् । बरु ‘जो चोर उसैको ठूलो स्वर’ उखान स्मरण गराउँदै पशुपतिमा डामेर छाडेको साँढे शैलीमा प्रस्तुत भइरहेका छन् ।
यति मात्र होइन, ओलीले आफू ‘देशभक्त राष्ट्रवादी’ भएकाले आफूलाई असफल बनाउन देशी/विदेशी खुफियाहरुले षडयन्त्र गरेको आत्मरति तथा जासुस सिद्धान्तको सहारा लिइरहेका छन् । तर, स्मरणीय यो छ कि अहिले हामी बाँचिरहेको नेपालमा षडयन्त्रको सिद्धान्त (कन्सपिरेसी थ्योरी) मा केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ जत्तिको माहिर अरु कोही पनि सतहमा प्रकट भएका छैनन् । यिनीहरुकै घातक निजी स्वार्थले नेपाल विस्मयकारी पाकिस्तानी तथा अफगानिस्तानी ‘मोडल’ तिर धकेलिँदैछ । आफ्नो नालायकी अरुको टाउकोमा लगाएर उम्कन खोज्नु वेश्यागमनमा संलग्न व्यक्तिमा सल्किएको प्राणघातक ‘एड्स’ जस्तै रोग हो । जो आफैँ ‘वेश्या’ सँग समागम गर्न मरिहत्ते गर्छ । अनि दोष चाहिँ एकलौटी वेश्यालाई दिन्छ । यो रोग यसबेला हाम्रा शीर्ष नेतृत्वमा छ ।
ओलीको चरित्रलाई नजिकबाट नियालेका नेकपा एमालेका पूर्वनेता, २०६४ को संविधान सभामा सुनसरी दुईबाट निर्वाचित संविधान सभा सदस्य एवम् अहिले नेकपा (एकीकृत समाजवादी) का पोलिट्ब्युरो सदस्य धर्मराज निरौलाका अनुसार राजनीति, सिद्धान्तप्रति कहिल्यै गम्भीर नहुने, निजात्मक कुरामा मात्र ध्यान दिने, सत्य समीक्षा नगर्ने, साचिँकै जुझारु हुनु पर्ने अवस्था आइलाग्दा भाग्ने स्वभाव छ केपी ओलीमा ।
“केपी ओलीको चरित्रलाई गहिरिएर अध्ययन गर्ने हो भने झापा विद्रोह सुरु हुनु अघि रामनाथ दाहालको घरमा बसेर पढ्दैदेखि उनमा कुरौटे, अवसरवादी र भगौडा चरित्र देखिन्छ । झापा विद्रोह चलिरहदा उनी सचिवको जिम्मेवारी पुरा नगरी मोरङ हुँदै भारतको कानपुरतिर भागे । उनी झापा विद्रोहको मैदानमा डटिरहेका बेला पक्राउ परेका होइनन्, क्रान्तिबाट भागेर सुरक्षित स्थान खोज्दै भारतबाट नेपाल आउँदै गर्दा रौतहटमा पक्राउ परेका हुन् । २०४४ सालमा जेलबाट पनि शंकास्पद ढंगले निस्किएका हुन्” निष्ठा र नैतिकताका धनी निरौला भन्छन्, “ओलीले जहिल्यै पनि आफू कसरी अघि बढ्ने मात्र सोचे । मदन भण्डारीको हत्या र महाकाली सन्धिमा दोहोरो चरित्र देखाए । ०६२/६३ को जनआन्दोलनको विपक्षमा उभिए । बयलगाढा चढेर अमेरिका पुग्नु र अहिले गणतन्त्र आउनु एउटै हो भने । त्यसैले ओलीमा जहिले पनि पश्चगामी चरित्र छ । अहिले पनि आफूलाई सुधार गर्नुको साटो उल्टो बाटो हिडिरहेका छन् ।”
पोलिटब्युरो सदस्य निरौलाका शब्दमा ओली अन्तरहृदयबाट डराउने, बाहिर डुक्रने पात्र हुन् । अहिले जति डुक्रिएपनि सचिवालय, स्थायी समितिको बहुमत उनको विपक्षमा छ । केन्द्रीय समितिमा पनि चार दर्जन बढीले ओलीले अध्यक्ष त्याग्नुपर्छ भनेर बोलेका छन् । अहिले ओलीको हालत कस्तो छ भने कुस्तीमा अर्काले उठ्नै नसक्ने गरी पछारीसकेको छ । तर खुट्टामाथि नै छ भनेर झेली गर्ने खेलाडी जस्तो गरिरहेका छन् । निरौला थप्छन्, “ओलीले आफ्नो खुट्टा माथि पारेर विकल्प खोज्छन् । खोजेनन् भने थप पछारिन्छन् । उनको उल्टो यात्रा अब देशले सहन सक्तैन ।”
युवासाथमा अनाथ
ओली हठ कतिसम्म ज्याद्रो छ भने जेनजी आन्दोलनमा विद्यालय पोशाकमै नवयुवाहरुको हत्या भएपछि एमाले अखिलका अध्यक्ष डा. सुजन कडरियाले राजीनामा दिएका थिए । जो ओलीकै इच्छा अनुसार केही महीना अघि मात्र निर्वाचित भएका थिए । तर, ३१ असोजको केन्द्रीय समिति बैठकमा कडरियाको राजीनामालाई समेत ओलीले ललकारे । बैठकमा ओलीले भनेका थिए, ‘जेनजी, जेनजी भन्दैमा हुन्छ ? सुजन कडेरियालाई जेनजी भनेरै अखिलको अध्यक्ष बनाएको हैन ? उसैले छाडेर भाग्यो त ! आइन्दा फेसबुकमा नलेख्नु, अन्तर्वार्ता दिँदै नहिड्नु । हामी चुनावमा जान्नौँ । कोही पनि विद्या भण्डारीको हिमायती भएर नआउनु ।’
केन्द्रीय समितिमा आफूमाथि ओलीले टिप्पणी गरेपछि १ कार्तिक राति ठिक १० बजे कडरियाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘…अनेरास्ववियुको अध्यक्ष पदमा मेरो लागी युनिफम लगाएका विध्यार्थी मारिदै गर्दा नैतिकताले रहन दिएन, आफ्नै पार्टि सरकारमा भएको कारण नै मेरो राजीनामाको मुख्य कारण हो । पार्टि छोडेको थिइन, अध्यक्षमा मार्ग प्रशस्त गर्दा संकटको समयमा पार्टिलाइ जोगाउन नसकेको प्रति आफ्नो हिस्सामा परेको जिम्मेवारी वोध गर्दै, दण्डित हुन तयार छु ।’
त्यसको २१ मिनेटपछि एमालेकै युवा नेता प्रकाश पौडेलले कडरियाको स्टाटस् सेयर गर्दै थप लेखे,
‘मित्र हामी प्रतिस्पर्धामा थियौ । म अझै भन्छु हामिले देश तचबअप मा ल्याउन पर्ने छ
प्रश्न सोध्नु जवाफ खोज्नु सबैको दाइत्व हो । २३ गते विद्यार्थीको हत्या भएको बिषयमा हाम्रो पार्टी अध्यक्षले प्रधानमन्त्रीको रुपमा नैतिक माफी माग्नु पर्छ छानवीनमा सघाउनुपर्छ र २४ गते देश जलाउने लाई कारबाही मात्रै होइन उनिहरुको सम्पत्ति जफत गरेर निर्माणको अगुवाइ गर्नु पर्छ ।
झन्डै ५ विश्वविद्यालय कमिटी सयौ हाम्रा योद्धा हरुले राजिनामा दिएका छन । हामी हाम्रो पार्टी लाई जनताको प्रिय पार्टी प्रमाणित गर्न ६० दिनको योजना बनाएर लागौ जहाँ पदको कुरा नहोस उद्देश्यको कुरा होस प्रकाश पौडेल मेची देखि महाकाली कहाँ उभिन पर्छ तयार छ ।
आज पार्टी मात्र होइन देश अफ्ट्यारोमा छ । यो समग्र अवस्था लाई ठिक गर्ने दाइत्व हाम्रो हो । देश अफ्ट्यारोमा छ विद्यार्थी बिचल्लीत छन जनता आक्रोसित छन सबैलाइ ठिक गर्न एक भएर लागौ ।’
ओलीका युवा सारथीहरुले नै उनको उल्टो यात्रालाई साथ नदिएको स्पष्ट संकेत हो यो । हुन पनि काठमाडौंमा महेश बस्नेतबाहेक अष्टलक्ष्मी शाक्य, कृष्णगोपाल श्रेष्ठ, विद्यासुन्दर शाक्यजस्ता खम्बाहरु ओलीका साथमा छैनन् । बागमतीमा डोरमणि पौडेल, आनन्द पोखरेलदेखि गोकुल बास्कोटासम्म ओलीको विपक्षमा छन् । जो कुनैबेला ओलीका सबैभन्दा निकट थिए । देशैभरीको तस्विर यस्तै छ । तर, ओलीको उल्टो यात्रा जारी छ । उनले ‘जेनजी’ आन्दोलन र सत्ताबाट आफ्नो वहिर्गमनलाई ‘षडयन्त्र’ को उपज भन्दै आएका छन् । केन्द्रीय कमिटी बैठकमा पेस गरेको प्रतिवेदनमा पनि यही कुरा उल्लेख गरेका छन् ।
ओलीले सरकारको नेतृत्व गरिरहदा उनले म सरकार सञ्चालक हुँ । मैले जनताका आशा र अपेक्षा पुरा गर्नुपर्छ भनेर कर्तव्यबोध गरेको देखिएन । उनले त फ्रान्सको लुईँ चौथौँ झैँ ‘म नै राज्य हुँ’ भन्ने अहंकार पालेको देखिएको छ । उनी एमालेका अध्यक्ष मात्रै हुन् । यस अर्थमा उनी एमालेका सहायक हुन् । तर, म नै एमाले हुँ भन्ने भ्रम उनमा छ । नकि एमाले हजारौं, लाखौं कार्यकर्ताहरुले श्रम, पसिना बगाएर निर्माण गरेको पार्टी हो ।
ओली शैली नियाल्दा उनले कहिल्यै पनि विनयशीलता र विनम्रता सिकाएनन् । छेडखानी, अपमान, अनादर ओलीले सिकाएको संस्कृति हो । ओलीले आफूलाई उनी सुझबुझसहित सोच्ने/चल्ने व्यक्ति होइनन् भन्ने पुष्टि गरिरहेका त छन् नै, निश्चित अराजकहरुको घेराभित्र बसेर अझै पनि षडयन्त्रको सिद्धान्त रचिरहेका छन् । आफ्नो असफलताको आत्मसमीक्षा, नैतिक जिम्मेवारी, पश्चाताप बोध विल्कुलै गरिरहेका छैनन् ।
नेपाल २३ र २४ भदौ अघि जहाँ थियो, अब त्यहाँ छैन । तर, ओली र उनको निश्चित समूह २३ भदौ अघि नै फर्काउन उद्दत छन् । त्यही सोंच र योजनाको उपज उनले २ कार्तिकमा सम्पादकहरुसँगको अन्तरक्रियामा ‘यस्तै भयो भने केपी ओली फेरि प्रधानन्त्रीमा फर्किने सम्भावना बढ्छ’ भनेका हुन् । जो किमार्थ संभव छैन । ओलीका यस्ता गर्जनहरु निकै नै कर्कस सुनिदैछन् ।
सर्वोच्च अदालत बार एसोसिएसनका पूर्वकोषाध्यक्ष अधिवक्ता विनोद कार्कीका भनाइमा ओलीको स्वभाव नै ज्याद्रो किसिमको छ । उनी सैद्धान्तिक पनि छैनन् । ओलीमा नाम सर्वहाराको लिने, आफ्नो इच्छा चाहिँ अधिनायकत्व लाद्ने अधिनायकवादी सोंच छ । “ओलीमा लोकतान्त्रिक चरित्र हुन्थ्यो भने आन्दोलन नै नभए पनि दुई कार्यकाल अध्यक्ष भइसकेको, उमेरजन्यलगायत कारणले जिम्मेवारी हस्तान्तरण गर्न आफूपछिको दोस्रो, तेस्रो पुस्ता तयार गर्नु पर्ने हो”, कार्की भन्छन्, “तर, ओलीले रुसका स्टालिनकै शैलीमा आफूलाई एकदमै अहंकारी, आफू जस्तो कोही छैनको अधिनायकवादी शैलीमा स्थापित गराउन खोजेका छन् ।”
विश्लेषक कार्की थप्छन्, “ओली जस्तो नेतृत्व ढलेपछि कसैले गन्दैनन् । जस्तो कि रुसमा स्टालिनलाई नेतृत्वमा रहुन्जेल सबैले मान्थे, मान्न बाध्य भएका थिए । तर, जुन दिन नेतृत्वबाट हटे, उनका शालिक पनि जलाए । उनलाई आर्दश मान्ने दुई जना अनुयायी पनि भेटिएन । ओलीको पनि त्यस्तै हुने देखिन्छ । केपी ओली जेनजी भावना, लोकतान्त्तिक पद्धति र परिवर्तनको शाश्वत नियम यी तीन वटा तथ्यको प्रतिकूल चलिरहेका छन् । ओली सच्चिएनन् भने यिनले एमाले पनि सिध्याउने छन् । देशले पनि थप दुःख पाउने छ ।”


माधव बस्नेत 




















