images
images
  • माओवादी केन्द्र र एकीकृत समाजवादीको एकता टुंगियो, झलनाथ–घनश्याम पनि सहमत

    काठमाडौं– कम्युनिष्ट घटकबीच एकताको प्रयास तीव्र बन्दै जाँदा नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादीबीच पार्टी एकीकरण लगभग टुंगोमा पुगेको छ ।

    यस एकतामा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई पनि सहभागी गराउने पहल भइरहेको स्रोतले जनाएको छ ।

    वार्तामा सहभागी नेताहरूका अनुसार दुई पार्टीबीच अब कुनै ठूला मतभेद बाँकी छैनन् ।

    नेतृत्व टुंग्याउने जिम्मा प्रचण्ड र माधवकुमार नेपाललाई दिइएको छ ।

    निर्वाचन आयोगले तोकेको समयअगावै एकीकरण औपचारिक घोषणा हुने बताइएको छ ।

    पार्टीको नीति र सिद्धान्तमा सहमति भइसकेको छ ।

    मार्गदर्शक सिद्धान्त माक्र्सवाद–लेनिनवाद रहनेछ भने लक्ष्य ‘नेपाली विशेषतासहितको समाजवाद’ हुनेछ ।

    यस प्रक्रियामा माओवादीले माओवाद र समाजवादीले जबज त्याग्ने सहमति भएको छ ।

    यद्यपि जबजका आधारभूत मूल्यहरू कायम रहनेछन् ।

    नयाँ पार्टीको नाममा अन्तिम निर्णय हुन बाँकी छ ।

    प्रस्तावित नामहरूमा ‘नेपाल कम्युनिस्ट पार्टी समाजवादी’ वा ‘नेकपा समाजवादी’ रहेका छन् ।

    नेतृत्व मोडालिटीमा प्रचण्ड संयोजक र माधव नेपाल सहसंयोजक हुने प्रस्ताव अघि सारिएको छ ।

    वार्ता टोलीका एक सदस्यका अनुसार झलनाथ खनाल र घनश्याम भुसालको व्यवस्थापन मिलाएपछि अब एकता बाधारहित भएको छ ।

    विप्लव सहभागी भए अध्यक्ष मण्डलको विकल्प पनि विचाराधीन छ ।

    पार्टी संरचना सचिवालयदेखि कमिटीसम्म दुवै पक्षका पदाधिकारी समायोजन गरी घोषणा तयारी अन्तिम चरणमा पुगेको छ ।

    प्रतिक्रिया दिनुहोस्

    images