images
images
  • शीतल निवास र सिंहदरबारमा आगो झोस्न दिने सैनिक कमाण्डरलाई कारबाही, उपत्यका पृतनाको बाहिनीपति राठौरलाई उन्मुक्ति

    काठमाडौं– नेपाली सेनाका तीनजना उच्च अधिकारीलाई सैनिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

    सिंहदरबारस्थित नरसिंह दलका गणपति प्रमुख सेनानी (लेफ्टिनेन्ट कर्णेल) गणेश खड्का, भवानीबक्स गण, सिन्धुलीका तेजेन्द्र मगर र धनगढीस्थित सैनिक स्कुल, तेघरी ब्यारेकका शिव भडेललाई असोज ३१ गते सरुवा गरिएको सर्कुलर निकालेर सेनाले भित्रभित्रै हिरासतमा राखेको बुझिएको छ ।

    यी तीन कर्णेललाई भदौ २३ र २४ को घटनासँग सम्बन्धित विषयमा जंगीअड्डा बोलाएर सैनिक हिरासतमा राखी सोधपुछ थालिएको उच्च स्रोतले जानकारी दिएको छ ।

    सैनिक सचिव विभागको आन्तरिक सर्कुलरअनुसार कर्णेल खड्कालाई नम्बर २ बाहिनी अड्डा, धनकुटाको दरवन्दी राखिएको छ ।

    उनले भदौ २४ गतेको विध्वंशका बेला सिंहदरबारमा रहेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड,’ एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल, प्रधानन्यायाधीशलगायतलाई त्यहीँको नरसिंहदल गणमा आश्रय दिएका थिए ।

    तर, सिंहदरवारभित्र दिनदहाडै त्यत्रो आगलागी र क्षति हुँदा पर्याप्त सावधानी अपनाएनन् ।

    सिंहदरवारको पश्चिमी मूलगेटबाट सशस्त्र एसएसपी राजेश उप्रेतीले हवाई फायर गरी उपद्रवकारीलाई एक खेप भगाउँदा भित्र सेनाको उपस्थिति देखिएन ।

    विध्वंशकारीले प्रहरीको बन्दुक पड्काउन थालेपछि बल्ल सशस्त्र पछि हटेको भिडियोहरू फेला पर्न थालेका छन् ।

    सैनिक हिरासतमा रहेका अर्का कर्णेल तेजेन्द्र मगरलाई नम्बर ५ बाहिनी अड्डा पुर्याइएको छ ।

    यसअघि उनी सिन्धुलीको भवानीबक्स गणमा गणपति थिए ।

    उनीमाथि जेलका कैदीबन्दी भाग्दा रोक्न पहल नगरेको अभियोग छ ।

    शिव भडेलमाथि भने टिकटक काण्ड लागेको छ ।

    भदौ २३ र २४ को जेन जी उपद्रवमा सेनाको भूमिकालाई लिएर आम रूपमा प्रश्न उठिरहेको छ ।

    सिंहदरबार, सर्वोच्च अदालत, संसद् भवन मात्र होइन भैरवनाथ गणको ठ्याक्कै पारीपट्टी बस्ने आफ्नै परमाधिपतिको कार्यालय शीतल निवाससमेत जोगाउन नसकेको भन्दै सैनिक नेतृत्वमाथि चर्को आलोचना भइरहेको छ ।

    तर, सेनाले भने उक्त दिनको परिस्थितिलाई हेरेर सोहीअनुसार खेल्नुपर्ने भूमिका खेलेको दावी गर्दै आएको छ ।

    समय नपुग्दै सरुवा भन्दै गणपतिलाई हिरासतमा राखिएको घटनाले आशंका बढाएको छ ।

    सेनाका तर्फबाट कमजोरी भएको थिएन भने उनीहरुलाई बाहिर सरुवा गरेको देखाएर भित्रभित्रै किन हिरासतमा लिइयो ? भन्ने प्रश्न उठेको छ ।

    नेपाली सेनाका सूचना अधिकारी सहायक रथी राजाराम बस्नेतले भदौ २३ र २४ को घटनासँग सम्बन्धित विषयमा जानकारी लिने काम भइरहेको बताए ।

    तर, यी सबै काम भइरहदा युद्धकार्य महानिर्देशनालयबाट बढुवा भएर उपत्यका पृतना सम्हाल्न पुगेका रविन्द्र खत्री र ५ चोटी सगरमाथा चढिसकेका बालाजुस्थित १ नम्बर बाहिनीपति सुनिलसिंह राठौरसँग सामान्य सोधपुछसम्म नहुनुलाई भने फौजले निको मानेको पाइन्न ।

    अर्का कर्णेल पनि पक्राउ

    नेपाली सेनाले धनगढीस्थित तेघरी ब्यारेकका लेफ्टिनेन्ट कर्णेल शिव भडेललाई पनि पक्राउ गरेको छ ।

    सिंहदरबारस्थित नरसिंह दल गणका गणपति गणेश खड्का र सिन्धुलीको भवानीबक्स गणका तेजेन्द्र मगरलाई हिरासतमा लिएर सोधपुछ थालेको जंगीअड्डाले लगत्तै भडेललाई पनि समातेको हो ।

    टिकटकमा भिडिओ हालेको सम्बन्धमा सोधपुछका लागि उनलाई सैनिक हिरासतमा राखेको बुझिएको छ ।

    स्रोतका अनुसार खड्का र मगर भने भदौ २३ र २४ को घटनासँग सम्बन्धित विषयमा छानविनमा तानिएका हुन् ।

    भदौ २४ गते जेन जी आन्दोलनको नाममा सिंहदरबारसहित देशभरका सरकारी कार्यलयमा लुटपाट, तोडफोड र आगजनी भएको थियो ।

    उक्त घटनामा सेनाको भूमिकालाई लिएर सर्वत्र आलोचना भैरहेको छ ।

    सोही घटनामा जिम्मेवार ठहर्याउँदै नरसिंह दल गणका तत्कालीन गणपति खड्कालाई सैनिक हिरासतमा लिएको सेनाले सिंगो काठमाडौं उपत्यकाको सुरक्षा कमाण्ड सम्हाल्ने पृतनापति रविन्द्र क्षेत्री र ५ चोटी सगरमाथा चढिसकेका बालाजुस्थित १ नम्बर बाहिनीपति सुनिलसिंह राठौरसँग भने सामान्य सोधपुछसमेत गरेको छैन ।

    जबकि उक्त दिन सिहंदरबार मात्र जलेको थिएन ।

    उपत्यकाका दर्जनौँ सरकारी संरचना ध्वस्त पारिएको छ ।

    ‘हिँडेर जाँदा पनि एकछिनमा पुगेर निर्देशन दिन मिल्ने ठाउँमा कमजोरी भएको छ भने पृतनापति पनि जिम्मेवार हुनुपर्छ । अख्तियारको जस्तै ठूलो माछा समात्न नमिल्ने हो भने बेग्लै कुरा नत्र गणपतिलाई मात्र किन कारवाही ?’, स्रोतले असन्तुष्टि जनाउँदै भन्यो ।

    तर, नरसिंह दल गणका गणपति मात्र छानविनमा पर्नुले ‘ठूलो माछा’ जोगाउने चलखेलको गन्ध आएको गुनासो जंगीअड्डा स्रोतले गरेको छ ।

    युद्धकार्य महानिर्देशनालयबाट बढुवा भएर उपत्यकाको सुरक्षा सम्हाल्न पुगेका दुई तारे जर्नेल खत्रीमाथि छानविन हुन्छ कि हुँदैन त्यो हेर्न बाँकी छ ।

    सामान्यतः उपत्यकाबाहिर पृतना र गणको दूरी टाढा हुन्छ ।

    तर, काठमाडौं उपत्यकामा भने पृतनाबाट नजिकैको दूरीमा गणहरू छन्, र उस्तै परे आधा घण्टामा हिँडेरै पुगिन्छ ।

    ‘हिंडेरै जाँदा पनि एकछिनमा पुगेर निर्देशन दिन मिल्ने ठाउँमा कमजोरी भएको छ भने पृतनापति पनि जिम्मेवार हुनुपर्छ । अख्तियारको जस्तै ठूलो माछा समात्न नमिल्ने हो भने बेग्लै कुरा नत्र गणपतिलाई मात्र किन कारवाही ?’, स्रोतले असन्तुष्टि जनाउँदै भन्यो ।

    प्रतिक्रिया दिनुहोस्

    images