काठमाडौं– शनिबार जेन्जी प्रतिनिधि मिरज ढुंगानाले नयाँ दल गठन गर्ने घोषणा गरे ।
तर, प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री, वैदेशिक मताधिकार र नागरिक तहको भ्रष्टाचार नियन्त्रण निकाय गठन नभएसम्म चुनावमा नजाने बताए ।
ढुंगानाले दलको नाम र संरचना तयार गर्न समिति बनाइसकेको जानकारी दिए ।
जेन्जी आन्दोलनपछि विभिन्न मागसहित थुप्रै समूहहरू बनेका छन् ।
हाल कम्तीमा चार समूह दल दर्ताको तयारीमा छन् ।
तीमध्ये सुदन गुरुङको समूहले बालेन शाह र सुमना श्रेष्ठसँग छलफल गर्दै एकीकृत जेन्जी फोर्स बनाउने प्रयास गरिरहेको छ ।
फिल्म निर्देशक निश्चल बस्नेत पनि उनीहरूबीचको समन्वयमा सक्रिय छन् ।
त्यसैगरी रक्षा बम नेतृत्वको समूहले पनि नयाँ दल गठनबारे अन्तिम निर्णय एक साताभित्र लिने बताएको छ ।
उनले लोकतान्त्रिक मूल्य र संविधानका आधारमा केन्द्रित राजनीतिक मोर्चा बनाउने तयारी भइरहेको जनाइन् ।
यता सहिद परिवारले आफ्नै दल गठन गर्ने घोषणा गरेको छ ।
सहिद श्रेयम चौलागाईंका बुबा गणेश चौलागाईंका अनुसार यो दल केवल सहिद परिवारकै नेतृत्वमा बन्नेछ ।
उनीहरूले संगठन विस्तारका लागि उपसमिति गठन गरिसकेका छन् ।























