
काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले निवर्तमान ऊर्जामन्त्री दीपक खड्का भागिसकेको बताएका छन् ।
नयाँपत्रिकासँगको अन्तर्वार्तामा उनले ठूला नेतामाथि सम्पत्ति छानबिन सुरु भएको बताउँदै खड्काको नाम नलिए पनि तत्कालीन ऊर्जामन्त्री भागिसके भन्दै संकेत गरेका छन् ।
भदौ २३–२४ को जेनजी आन्दोलनताका खड्का ऊर्जामन्त्री थिए ।
आन्दोलनकै क्रममा प्रदर्शनकारीहरूले बूढानीलकण्ठस्थित उनको घर जलाएका थिए ।
ओली नेतृत्वको सरकारमा खड्काकै पहलमा कुलमान घिसिङलाई प्राधिकरण प्रमुखबाट हटाइएको थियो ।
अहिले अन्तरिम सरकारमा घिसिङ ऊर्जासँगै भौतिक पूर्वाधार मन्त्री बनेका छन् ।
अर्यालका अनुसार ठूला नेताहरूको सम्पत्ति शुद्धीकरण विभागमार्फत छानबिन भइरहेको छ ।
केहीको भागाभागको प्रयास भइरहेको छ ।
उनले भने, ‘भाग्नबाट रोक्ने कानुनी प्रावधानबारे अध्ययन भइरहेको छ । प्रारम्भिक अनुसन्धानमा समस्या छैन ।’
गृहमन्त्रीले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीमाथि पनि तीखा आरोप लगाए ।
उनका अनुसार ओलीको सैतानी प्रवृत्ति र आपराधिक लापरबाहीका कारण भदौ २४ को घटनाक्रम चर्कियो ।
‘जेनजी पुस्ताले हटाएको सत्य अझै बुझ्न उहाँ तयार हुनुहुन्न,’ मन्त्री अर्यालले भने, ‘उहाँको दिमाग सैतानी छ, भड्काउने र भ्रम फैलाउनेबाहेक केही गर्दैन ।’
त्यस्तै उनले विभिन्न सार्वजनिक कार्यक्रममा पनि ठूला नेतामाथिको छानबिन सुरु भइसकेकोले देउवा, ओली र प्रचण्ड लगायतका नेताहरू भाग्ने सुरमा रहेका स्पष्ट पार्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्