काठमाडौं– चुनाव गराउने जिम्मेवारी रहेको अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले भदौ २३ को दमन घटनामा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकमाथि अनुसन्धान र मुद्दा अघि बढाउन महान्यायाधिवक्ता सविता भण्डारीलाई दबाब दिएको खुलेको छ ।
उच्च अदालतका पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन आउनुअघि नै गृहमन्त्री अर्यालले असोज २६ गते महान्यायाधिवक्ताको कार्यालय पुगेर ओली–लेखकसहितलाई पक्राउ गरी बयान लिन आग्रह गरेका थिए ।
महान्यायाधिवक्ता भण्डारीका अनुसार उनले नै अर्याललाई छलफलका लागि बोलाएकी थिइन् ।
भण्डारीले भनिन्, ‘जाँचबुझ आयोगले आफ्नो काम गर्छ, तर, हामीले पनि समानान्तर रूपमा अनुसन्धान अघि बढाउनुपर्छ भन्ने छलफल भएको हो ।’
भदौ २३ को घटनामा प्रहरीको प्रारम्भिक प्रतिवेदन, मुचुल्का, सीसीटीभी फुटेज र मृतक परिवारका जाहेरीका आधारमा मुद्दा चलाउनुपर्ने गृहमन्त्रीको अडान रहेको स्रोतले जनाएको छ ।
यही विषयमा असोज ३० गते महान्यायाधिवक्ता भण्डारीले प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ, अतिरिक्त महानिरीक्षक दानबहादुर कार्की र अन्य अधिकारीसँग पनि बैठक गरेकी थिइन् ।
बैठकमा उनले भदौ २३ का जाहेरीका आधारमा तत्काल अनुसन्धान अघि बढाउन निर्देशन दिएकी थिइन् ।
तर, आईजी खापुङले दुवै पक्षबाट जाहेरी परेको हुँदा आयोगको प्रतिवेदनपछि मात्रै अघि बढ्नु उपयुक्त हुने मत दिएका थिए ।
भण्डारीका अनुसार आयोगको कामसँगै महान्यायाधिवक्ता कार्यालयले पनि अपराधका आधारमा अनुसन्धान अघि बढाउने निर्णय भएको छ ।
‘गोली चलाउन आदेश कसले दियो भन्ने कुरा अनिवार्य रूपमा छानबिन हुन्छ,’ उनले भनिन् ।
उनका अनुसार दुवै पक्षको अनुसन्धान सँगसँगै गरिनेछ र दोषी देखिएका सबैको बयान लिने गरी सानो संयुक्त समिति बनाएर काम अघि बढाउने तयारी भइरहेको छ ।























