काठमाडौं– २१ फागुनमा तय प्रतिनिधिसभा निर्वाचनबारे निर्वाचन आयोग र २९ राजनीतिक दलबीच छलफल भएको छ ।
सरकारले दलहरूसँग संवाद नगरेको आरोपबीच राष्ट्रपति रामचन्द्र पौडेलको मध्यस्थतामा केही दिनअघि दल, सरकार बैठक भएपछि आयोगले बिहीबार दलहरूसँग छलफल गरेको हो ।
जेनजी आन्दोलनपछि अन्तरिम सरकारको नेतृत्वमा हुने निर्वाचनप्रति केही दल असन्तुष्ट छन् ।
माओवादी केन्द्र जसरी भए पनि चुनावमा जाने तयारीमा छ भने कांग्रेस पर्ख र हेरको अवस्थामा छ ।
एमाले भने निर्वाचन रोक्न प्रयत्नशील देखिएको छ ।
गृहमन्त्री ओमप्रकाश अर्यालले केही पक्षले चुनाव भड्काउने प्रयास गरेको उल्लेख गर्दै सरकार तोकिएकै मितिमा निष्पक्ष रूपमा निर्वाचन गराउने प्रतिबद्धता जनाए ।
एमाले उपाध्यक्ष गुरुप्रसाद बरालले सरकारका गतिविधि निर्वाचनविरोधी भएको आरोप लगाउँदै ७ बुँदे सुझाव पेश गरे ।
जसमा संसद् पुनःस्थापनाको पक्षसमेत समावेश छ ।
संसद् पुनर्स्थापना गरेर एमाले अध्यक्ष केपी शर्मा ओली पुनः प्रधानमन्त्री बन्ने रणनीतिमा छन् ।
आयोगका अनुसार अधिकांश दलहरू निर्वाचनप्रति सकारात्मक देखिए पनि एमाले सशंकित छ ।
आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले सरकारसँग समन्वय भइरहेकाले तोकिएको मितिमै निष्पक्ष र स्वच्छ निर्वाचन हुने विश्वास व्यक्त गरे ।























