काठमाडौं– सात वर्षअघि डा. सीके राउतको नेतृत्वमा स्थापना भएको जनमत पार्टी मधेसमा वैकल्पिक शक्ति बन्ने लक्ष्य लिएर उदायो ।
तर, अहिले पार्टी चार टुक्रा भएको छ ।
राउतविरुद्ध विद्रोह भएकाले दीपक साहले जनस्वराज पार्टी गठन गरेका छन् भने कैलाश महतोले स्वाधीन मधेस जनअभियान संचालन गर्दै आएका छन् ।
अब्दुल खानले पनि नयाँ पार्टी खोल्ने तयारी गरिरहेका छन् ।
२०६७ सालमा स्वतन्त्र मधेस स्थापना गर्ने उद्देश्यसहित मधेस गठबन्धन सुरु गरेका राउतले २०७५ मा प्रधानमन्त्री केपी ओलीसँग ११ बुँदे सम्झौता गरेर मूलधारमा प्रवेश गरे ।
तर, पार्टीभित्र परिवारवाद र तानाशाही प्रवृत्तिका कारण धेरै नेताहरू पार्टी छाडे ।
२०७९ को चुनावपछि मन्त्री नियुक्ति विवाद र नेतृत्वशैलीलाई लिएर तनाव बढ्यो ।
उपाध्यक्ष दीपक साह र कोषाध्यक्ष सुरेन्द्रनारायण यादवलाई स्पष्टीकरण सोधेर राउतले निष्कासन गरे ।
त्यसपछि उनीहरूले नयाँ पार्टी गठन गरे ।
अब्दुल खानका अनुसार, ‘राउतको तानाशाही प्रवृत्तिले पार्टीमा बस्न असम्भव भयो ।’
विद्रोह गर्ने नेताहरूले राउतको एजेन्डा र मुद्दा स्वीकारे पनि कार्यान्वयनमा पारदर्शिता नहुँदा असन्तुष्टि बढेको बताउँछन् ।
साह भन्छन्, ‘अध्यक्ष राउतको देखाउने दाँत एउटा, खाने दाँत अर्को छ ।’
राउतको मूल एजेन्डा मधेसको स्वतन्त्रता, अधिकार र स्वराज्य सुनिश्चित गर्ने थियो ।
२०७९ को चुनावमा जनमत पार्टीले प्रतिनिधिसभामा सफलता पाए पनि पार्टीभित्र असन्तुष्टि, मन्त्री विवाद र नेतृत्वशैलीले चार टुक्रामा विभाजन गरायो ।























