काठमाडौं – सरकारले राजनीतिक नियुक्तिबाट विदेश पठाइएका १६ मध्ये ११ जना राजदूतलाई फिर्ता बोलाउने तयारी गरेको छ ।
परराष्ट्र मन्त्रालयका उच्च स्रोतका अनुसार, मन्त्रिपरिषद्को आगामी बैठकमा यस सम्बन्धमा निर्णय हुने तयारी छ ।
अघिल्लो केपी शर्मा ओली नेतृत्वको सरकारले राजनीतिक कोटाबाट पठाएका ती राजदूतमध्ये ११ जनालाई तत्काल फिर्ता बोलाउने र बाँकी पाँचजनाको कार्यशैली केही समय मूल्यांकन गरी निर्णय गर्ने सहमति बनेको स्रोतले जनाएको छ ।
फिर्ता बोलाइने राजदूतहरूमा चीनका कृष्णप्रसाद ओली, भारतका डा. शंकरप्रसाद शर्मा, जर्मनीका शाहिल रुपाखेती, इजरायलका धनप्रसाद पण्डित, मलेसियाका नेत्रप्रसाद तिम्सिना, कतारका रमेशचन्द्र पौडेल, रुसका जंगबहादुर चौहान, साउदी अरेबियाका डा. नरेशविक्रम ढकाल, बेलायतका चन्द्रकुमार घिमिरे, अमेरिकाका लोकदर्शन रेग्मी र स्पेनका शनिल नेपाल छन् ।
यद्यपि अष्ट्रेलियाकी चित्रलेखा यादव, डेनमार्ककी सुम्निमा तुलाधर, दक्षिण कोरियाकी शीवमाया तुम्बाहाङ्फे, दक्षिण अफ्रिकाका कपिलमान श्रेष्ठ र श्रीलंकाका पूर्णबहादुर नेपालीलाई तत्काल फिर्ता नबोलाइने भएको छ ।
हाल नेपालका ३१ दूतावास र तीन स्थायी नियोग गरी ३४ वटा नियोगमा राजदूत कार्यरत छन् ।
तीमध्ये १८ जना करियर डिप्लोम्याट र १६ जना राजनीतिक नियुक्तिबाट गएका हुन् ।
परराष्ट्र मन्त्रालयका अनुसार, करियर डिप्लोम्याटहरूलाई फिर्ता नबोलाइनेछ ।























