काठमाडौं– ‘जेन्जी ’को नाममा विभिन्न सरकारी कार्यालयमा पुगेर धम्क्याउने अछाम पञ्चदेवल विनायक–४ का अर्जुनबहादुर शाहीसँग प्रहरीको परिचयपत्र भेटिएको छ ।
प्रहरी स्रोतका अनुसार, शाहीसँग कुमार शर्मा नामका प्रहरी सहायक निरीक्षक (असई)को परिचयपत्र बरामद गरिएको हो ।
शर्मा हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत छन् र इन्स्पेक्टरको तालिमका लागि नाम निकालिसकेका छन् ।
उनले आफ्नो परिचयपत्र हराएको बताएका छन् ।
शाहीलाई प्रहरीले बुधबार कोटेश्वरबाट पक्राउ गरेको हो ।
उनले नागरिक उड्डयन प्राधिकरण, नेपाल वायु सेवा निगम र अख्तियारको केन्द्रीय कार्यालयलगायत स्थानमा पुगेर ‘अनुगमन’ र ‘ज्ञापनपत्र’का नाममा धम्क्याउने गरेका थिए ।
केही दिनअघि मात्रै उनले प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीको राजीनामा माग्दै विवाद खडा गरेका थिए ।
प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार, शाहीको परिवारसँग उनको सम्बन्ध राम्रो छैन ।
कक्षा ८ मा पढ्ने समयमा नै उनी गाउँमा भएको बाख्रा चोरी प्रकरणमा संलग्न रहेको र त्यसपछि गाउँबाट फरार भएको तथ्य फेला परेको प्रहरीले जनाएको छ ।























