काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकका लागि ८ एजेन्डा तय भएका छन् ।
बिहीबार बिहान सानेपास्थित पार्टी कार्यालयमा बसेको कार्यसम्पादन समिति बैठकले एजेन्डा टुंग्याएको एक पदाधिकारीले जानकारी दिए ।
पहिलो एजेन्डा जेनजी प्रदर्शन र हालका राजनीतिक घटनाक्रमबारे छ भने दोस्रो एजेन्डा पार्टीको १५औं महाधिवेशनसँग सम्बन्धित छ ।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा बुधबार ५१ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षरसहित मंसिरमै नियमित वा विशेष महाधिवेशन गर्न माग गरिएको थियो ।
डा. शेखर कोइरालाको समूहले पनि मंसिरमै विधि र प्रक्रिया पूरा गरी नियमित महाधिवेशन गर्नुपर्ने पक्षमा छ ।
संस्थापन पक्षले नियमित महाधिवेशन गर्न सहमति जनाएको भए पनि मंसिरमा आवश्यक तयारी पूरा गर्न समय अपुग हुने तर्क गरेको छ ।
यस्तै, यही सन्दर्भमा नियमित महाधिवेशनको प्रस्ताव केन्द्रीय समिति बैठकमा पेश हुन लागेको छ ।
सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिमा जिम्मेवारी दिएपछि बिहीबारको बैठक खड्काको अध्यक्षतामा बस्ने तयारी छ ।
खड्काले बुधबार संस्थापन पक्षीय पदाधिकारीहरूसँग बैठकका एजेन्डाबारे छलफल गरेका थिए ।
संस्थापन पक्षीय नेताहरूले खड्कालाई नियमित महाधिवेशनको स्पष्ट कार्यतालिका केन्द्रीय समिति बैठकमा पेस गर्न सुझाएका छन् ।
देउवाले कार्यवाहकको जिम्मेवारी दिएपछि विशेष महाधिवेशनको औचित्य समाप्त भएको संस्थापन पक्षको धारणा छ ।
























