images
images
  • एमाले बैठकमा बहुमत सदस्यले मागेनन् ओलीको राजीनामा, महाधिवेशनबाटै विकल्प खोज्ने तयारी

    काठमाडौं– नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व परिवर्तनको माग तीव्र बनेका बीच स्वेच्छिक राजीनामा अस्वीकार गर्दै आफूलाई वैधानिक प्रक्रिया र बहुमतबाट मात्र हटाउन सकिने चुनौती दिएका छन् ।

    बुधबारदेखि सुरु केन्द्रीय कमिटी बैठकमा उनले २७–२९ मंसिरमा पोखरामा ११औँ महाधिवेशन गर्ने प्रस्ताव प्रस्तुत गर्दै यही प्रक्रियाबाट नेतृत्वको विकल्प खोज्न आग्रह गरे ।

    जेन–जी आन्दोलनपछि नेतृत्वमाथि उठेका प्रश्नबीच ओलीले अर्ली महाधिवेशनको प्रस्ताव गर्दै पार्टीभित्रको असन्तुष्टिलाई वैधानिक बाटोबाट समाधान गर्नुपर्ने बताए ।

    उनले सामाजिक सञ्जाल र बाह्य दबाबका आधारमा निर्णय नलिइने स्पष्ट पार्दै केन्द्रीय कमिटी र महाधिवेशनको निर्णय नै अन्तिम हुने बताएका छन् ।

    ओलीले आफूविरुद्ध अभियान चलाउने र पार्टीबाहिर अभिव्यक्ति दिने नेताहरूको आलोचना गर्दै पार्टी एकता र अनुशासनमा जोड दिए ।

    उनले जेन–जी आन्दोलनका घटनाबारे प्रस्तुत विशेष १५ बुँदे राजनीतिक प्रस्तावमा प्रतिनिधिसभा पुनस्र्थापना, असंवैधानिक कदमविरुद्ध जनआन्दोलन र स्वतन्त्र छानबिन आयोग गठनको माग अघि सारे ।

    गोलीकाण्डबारे उनले नैतिक जिम्मेवारी अस्वीकार गर्दै घटनामा शक्तिराष्ट्रहरूको संलग्नता रहेको दाबी गरे ।

    उनका अनुसार शान्तिपूर्ण आन्दोलनमा घुसपैठ गरी ठूलो षड्यन्त्रसहित हिंसा गराइएको हो ।

    यस्तै, एकीकृत समाजवादीका कार्यकर्तालाई पुनः पार्टी एकतामा फर्किन अपिल गर्दै उनले एमालेलाई एकमात्र वैधानिक राजनीतिक बाटोको रूपमा चित्रित गरे ।

    महाधिवेशनको मिति तय भएपछि केन्द्रीय कमिटी बैठकमा तत्काल पुनर्गठन वा ओलीको राजीनामाको मुद्दा भने शिथिल बनेको छ ।

    पहिलो दिन बोलेका अधिकांश सदस्यहरूले अध्यक्षको राजीनामाबारे चर्चा नगरी महाधिवेशन तयारीमा जोड दिएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images