images
images
  • आहुतिको संयोजकत्वमा नयाँ कम्युनिष्ट पार्टी गठनबाट बिच्किए शर्मा, श्रेष्ठ र भुसाल गृहकार्यमै (भिडिओसहित)

    काठमाडौं– समाजवादी मोर्चाको नाममा नेकपा (माओवादी केन्द्र), नेत्रविक्रम चन्द ‘विप्लव’ समूह, उपेन्द्र यादव नेतृत्वको जसपा र माधवकुमार नेपालको एकीकृत समाजवादीबीच सम्भावित एकताको तयारी भइरहेका बेला वामपन्थी राजनीतिक वृत्तमा अर्को ध्रुवीकरणको तयारी पनि तीव्र बनेको छ ।

    माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादी अध्यक्ष माधव नेपालबीच बढ्दो निकटता साथै दुवै पार्टीका दोस्रो र तेस्रो तहका नेताहरूमा देखिएको असन्तुष्टिका कारण नयाँ वाम मोर्चा गठनको सम्भावना बढ्दै गएको हो ।

    वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीका महासचिव विश्वभक्त दुलाल ‘आहुति’को पहलमा माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’, एकीकृत समाजवादीका महासचिव घनश्याम भुसाल, स्थायी समिति सदस्य डा. विजय पौडेललगायत नेताबीच वैकल्पिक वाम एकताको प्रारम्भिक छलफल अघि बढाइएको छ ।

    छलफलमा सहभागी वैज्ञानिक समाजवादीका नेता जागृत रायमाझीका अनुसार जेनजी आन्दोलनपछि कम्युनिष्ट आन्दोलनलाई पुनःपरिभाषित गर्ने आवश्यकता देखिएकाले नयाँ दिशातर्फको संवाद सुरु भएको हो ।

    एकीकृत समाजवादीभित्रका केही नेताहरूले माओवादीसँगको एकताले आफ्नो संगठन र कार्यकर्तालाई ‘अलपत्र पार्ने’ भन्दै असन्तुष्टि जनाएका छन् ।

    तिनै नेताहरूले वैकल्पिक ध्रुवीकरण वा एमालेमा फिर्ता जाने सम्भावनाबारे पनि सोचिरहेका छन् ।

    माओवादीका असन्तुष्ट नेताहरूले भने प्रचण्डले हालैका बैठकहरूमा असहमत मत राख्नेप्रति कठोर व्यवहार गर्न थालेपछि वैकल्पिक बाटो खोज्ने सोच बनाएका हुन् ।

    त्यस्तै, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पनि बैठकमा ‘एकताको विरोध गर्नेहरूले आफ्नो बाटो रोज्न सक्छन्‌’ भन्ने चेतावनी दिएपछि असन्तुष्टि झनै गहिरिएको बताइन्छ ।

    यसैबीच माओवादी उपमहासचिव जनार्दन शर्माले आफू नयाँ कम्युनिष्ट पार्टी गठनमा संलग्न नभएको भन्दै भिडिओ सन्देशमार्फत स्पष्ट पारेका छन् ।

    उनलाई सम्भावित कम्युनिष्ट पार्टीको महासचिव बनाउन श्रेष्ठ र भुसाल इच्छुक नभएपछि उनी बिच्किएको स्रोत बताउँछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images