images
images
  • अपदस्थ पूर्वप्रधानमन्त्री ओलीबाटै देश र जनताको सुरक्षामा चुनौती छ : गृहमन्त्री अर्याल

    काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले जेन्जी आन्दोलनले अपदस्थ गरेका समूहबाटै सुरक्षा चुनौती बढ्ने गतिविधि भइरहेको बताएका छन् ।

    गृह मन्त्रालयमा पत्रकारहरूसँग कुरा गर्दै उनले भने, ‘सुरक्षा हामीले दिइराखेका छौं, तर केही ठाउँबाट नेशनल सेक्युरिटी क्राइसिस थप्ने खालका गतिविधि भइरहेका छन् ।’

    पत्रकारको प्रश्नमा उनले स्पष्ट पार्दै भने, ‘जो अपदस्थ भएका थिए, त्यहीँबाट यस्तो गतिविधि भइरहेको छ । ती तत्वहरू पहिचान भइसकेका छन् र निगरानीमा छन् ।’

    उनका अनुसार विस्थापित दलका कतिपय तत्वहरू सक्रिय भई समस्या सिर्जना गर्न खोजिरहेका छन् । ‘सबैलाई म जेनरलाइज गर्दिनँ,’ उनले भने, ‘तर केही एलिमेन्टहरूले अपेक्षाभन्दा फरक गतिविधि थालेका छन् ।’

    गृहमन्त्री अर्यालले ती दलहरूलाई आत्ममूल्यांकन गर्न सुझाव दिँदै भने, ‘विद्रोहले विस्थापित गरेका नेताहरूले सुशासन दिन नसक्दा यस्तो अवस्था आएको हो भन्ने बोध गर्नुपर्थ्यो, क्षमा माग्नुपर्थ्यो, तर, उनीहरू नै अहिले डुक्रिन थालेका छन् ।’

    उनले वर्तमान सरकार क्रान्तिपछि बनेको सरकार भएको बताउँदै थपे, ‘क्रान्तिकारीहरूलाई आतंककारी देख्न नखोज्नू, यो क्रान्तिपछि बनेको सरकार हो, हेक्का रहोस् ।’

    अर्यालले सुशासनका लागि सरकार प्रतिबद्ध रहेको बताउँदै भने, ‘विद्रोहपछि सुशासन छोडिन्छ भन्ने होइन । सुशासनका क्रममा भ्रष्टाचारी कानुनी दायरामा आउँछन् ।’

    प्रतिक्रिया दिनुहोस्
    images
    images